• २९ चैत २०८२, आइतबार

‘मधेशलाई अन्नभण्डार बनाउन भूमिका निर्वाह गर्छु’

blog

विजयकुमार साह 

ढल्केबर, चैत २९ गते  । राजनीतिमा पद र प्रतिष्ठाका लागि छिनाझपटी चल्नु नौलो कुरा होइन । धनुषाको सहिदनगर नगरपालिका–२, कमलपुरको माटोमा भने एउटा यस्तो नाम छ, जसले हातैमा आएको सत्ताको सोपानलाई सहिदको सम्मानका लागि सहजै परित्याग गरिदियो । उहाँ हुनुहुन्छ, ६१ वर्षीय जोगकुमार बरबरिया यादव; जो अहिले नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभामा जनभावनाको प्रतिनिधित्व गरिरहनुभएको छ । 

जोगकुमारको राजनीतिक यात्रा कुनै सुखद संयोग होइन; बरु पाँच दशक लामो अनवरत सङ्घर्ष, निष्ठा र त्यागको प्रतिफल हो । गाउँमा ‘जीवन’ र ‘श्रवण’ उपनामले चिनिने उहाँ पदका लागि मरिहत्ते गर्ने होइन, बरु सिद्धान्तका लागि मर्न तयार हुने सादगी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको जीवनको एउटा मोडले धेरैको मन छुन्छ । २०६३ सालको त्यो क्षण, जब सशस्त्र युद्धबाट माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दै थियो । अन्तरिम व्यवस्थापिका संसद्मा जोगकुमारको नाम सांसदका लागि निश्चित भइसकेको थियो । उहाँ फूलमाला पहिरिएर खुसी साट्न नेता मातृकाप्रसाद यादवलाई भेट्न धनुषाधाम पुग्नुभएको थियो तर त्यहाँको एउटा दृश्यले उहाँको मन पगाल्यो ।

जनयुद्धका क्रममा परिवारका चार सदस्य गुमाएका शिला यादवले जब सहिद परिवारले अवसर नपाएको पीडा पोख्नुभयो, जोगकुमारको गला अवरुद्ध भयो । उहाँलाई लाग्यो, पदभन्दा ठुलो त सहिदको बलिदान हो । तत्कालै उहाँले आफ्नो भागमा परेको सांसद पद शिलालाई सुम्पिने निर्णय लिनुभयो । “कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पक्षमा हुनु पर्छ र सहिद परिवारले न्याय पाउनु पर्छ भन्ने मेरो अटल विश्वास थियो, त्यसैले मैले पद त्यागेँ,” उहाँले गौरवका साथ स्मरण गर्नुभयो । 

१३ वर्षकै कलिलो उमेरमा छिमेकी शिवनाथ यादवको राजनीतिक सङ्घर्षबाट प्रेरित भई राजनीतिमा होमिएका जोगकुमारले सेल कमिटीदेखि जिल्ला कमान्डरसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । 

मधेशको तप्त रापमा ‘जनयुद्ध सम्भव छैन’ भन्नेहरूलाई चुनौती दिँदै उहाँले धनुषा, महोत्तरी, सिराहा र उदयपुरको कमान्ड सम्हाल्नुभयो । उहाँकै नेतृत्वमा ‘रामवृक्ष बटालियन’ जन्मियो; जुन पछि विशाल ब्रिगेडमा रूपान्तरण भयो ।

दुई पटकको निर्वाचनमा पराजय भोग्दा पनि विचलित नभएका यादव अहिले समानुपातिक प्रणालीमार्फत संसद्को रोस्ट्रममा उभिनुभएको छ । उहाँ भन्नुहुन्छ, “म कसैको निगाहले होइन, आफ्नै पसिना र सङ्घर्षले यहाँ आइपुगेको हुँ ।”

संसद्मा पुगेपछि पनि उहाँको मन गाउँकै माटो र किसानको समस्यामा अल्झिएको छ । तराई–मधेशका २२ जिल्लालाई देशको वास्तविक अन्नभण्डार बनाउनुपर्ने उहाँको सपना छ । 

किसानले समयमा मल, बिउ र सिँचाइ नपाउने पीडालाई उहाँले सदनको प्रमुख एजेन्डा बनाउनुभएको छ । वन्यजन्तुले बालीनालीमा पु¥याउने क्षति र किसानको सुरक्षाका विषयमा उहाँले सरकारलाई निरन्तर खबरदारी गरिरहनुभएको छ ।

पद र अवसरको दौडधुप भइरहने वर्तमान राजनीतिमा यादव एउटा यस्तो दियो हुनुहुन्छ; जसले ‘त्याग र समर्पण’ अझै जीवित छ भन्ने सन्देश दिइरहनुभएको छ । उहाँको यात्रा पदका लागि होइन, परिवर्तनका लागि थियो र आज पनि छ ।