• १३ साउन २०८१, आइतबार

‘समाजवाद भ्रष्टाचारको जगबाट आउँदैन’

आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै सांसद डा. शेखर कोइराला । तस्बिर : शेखर चौलागाईं

काठमाडौं, चैत १२ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ। 

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद्, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। 

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको अर्थतन्त्रमा देखिएका सङ्कट हटाउनका लागि सबै मन्त्रीलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनुभयो। 

नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिसँग मुलुकको आर्थिक सङ्कटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो,  ‘‘अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन। हाम्रा आफ्नै विगतमा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो छ। यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ।’’ 

उहाँले सबल अर्थतन्त्रका लागि फजुल खर्च घटाउनु पर्नेमा जोड दिनुभएको छ। सांसद कोइरालाले भन्नुभयो, ‘‘देशको सबल अर्थतन्त्रका लागि समयसमयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलले बुझाएका प्रतिवेदनलाई आधार मानेर अनुत्पादक फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौँ। नागरिक विश्वास र संसद्को समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको सङ्कट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ। यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रदर्शन गरेर पुग्दैन। सम्पूर्ण मन्त्रिमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ। समाजवाद भ्रष्टाचारको जगबाट आउँदैन। समन्यायिक समाज बनाउन उस्तै खालको विचार र दृष्टिकोण चाहिन्छ। साझा सङ्कल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी छ।’’ 

नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैङ्किङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोही अनुसार विज्ञको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराउनुभयो।