• १३ साउन २०८१, आइतबार

धार्मिक पर्यटक तान्दै कालिका मन्दिर

blog

बागलुङ समाचारदाता

बागलुङ, चैत १२ गते । बागलुङ जिल्ला मालढुङ्गाको शिरमा रहेको घना जङ्गलको बीचमा कालिका मन्दिर  छ। नेपालको एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ प्रवेश गर्नेबित्तिकै दर्शन गर्न पाउने मन्दिर हो। 

भगवान्मा आस्था र विश्वास गर्ने जो कोही बागलुङ–पोखरा लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु आफ्नो सफल र शुभयात्राको कामना गर्दै नतमस्तक भएर ढोग्छन्। गाडीको स्टेरिङ समात्ने चालकको हात पनि एक पटक मन्दिर गेटको घुम्तीमा पुग्दा स्टेरिङ छोडेर वा एक हातले स्टेरिङ समात्ने अर्काे हातले ढोग्नमा पुग्छन्। 

विशेष गरी हिन्दु धर्म मान्नेका लागि कालिका भगवती मन्दिर एक महत्वपूर्ण स्थान हो। यहाँ नेपालको विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गर्छन्।  कालिका भगवतीप्रति आस्था र विश्वास राखेर पूजापाठ, भाकल गर्दा सोचेको, आँटेको काम पुग्ने जनविश्वास छ। चैतेदशैँको नवरात्र सुरु भएलगत्तै मन्दिरमा पूजा गर्न आउने भक्तजनको भिड लाग्न थालेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो।  छिमेकी देश भारतदेखि पनि भाकल पूरा गर्नका लागि भक्तजन मन्दिर आउने क्रम बढेको अध्यक्ष खड्काले बताउनुभयो। नवरात्र सुरु भएपछि दैनिक दुई/तीन हजार भक्तजन भित्रन थालेका छन्। 

कालिका मन्दिरकै कारण जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। जिल्लाबाहिरबाट पूजाका लागि आउने भक्तजन अघिल्लो दिन आएर बस्ने हुँदा यहाँको पर्यटन विकास र होटल व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको गुठी व्यवस्थापन समितिका कानुनी सल्लाहकार राम शर्माले बताउनुभयो। 

चैतेदशैँको अवसर पारेर कालिका भगवती गुठीले १३ गतेदेखि परम्परागत चैत्राष्टमी मेला आयोजना गरेको छ। बागलुङ नगरपालिका–२ मा अवस्थित मन्दिर तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले १५९१ सालमा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग विवाह गर्दा उहाँकी श्रीमतीले माझकी देवी दाइजो ल्याएको र पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजा दम्पतीले यहाँ मन्दिर स्थापना गरी पूजापाठ गर्न थालेको इतिहास छ। 

यो मन्दिरको चारै दिशामा चार ढोका छन्। पूर्व दिशाको ढोका अधिकांश समय बन्द नै रहन्छ। उक्त ढोका खोले नाग उत्पन्न हुने र अनिष्ट हुन सक्ने विश्वास गरिन्छ।

विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल मन्दिरदेखि करिब १० मिनेटको पैदल यात्रामा पुग्न सकिने हुँदा धार्मिक तथा प्राकृतिक पर्यटनलाई एकसाथ जोड्न सकिने अध्यक्ष खड्काको भनाइ छ।