• १३ साउन २०८१, आइतबार

बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण

blog

दोखुका किसानलाई टनेल वितरण गर्नुहुँदै नगरप्रमुख अमिर मादेन । तस्बिर: चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ । तरकारी खेती गर्दै आएका फुङ्लिङ नगरपालिका–७ का ५० जना किसानलाई छाहारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको हो । 

तरकारीजन्य खेती गरेर आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले बताउनुभयो । नगरप्रमुख अमिर मादेन र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको उपस्थितिमा वडा कार्यालयमै किसानलाई बोलाएर टनेल वितरण गरेको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो । 

फुङ्लिङ नगरपालिका–७ दोखुका किसानलाई टनेल वितरण गर्दै नगरप्रमुख मादेनले टनेल खेतीबाट उत्पादन हुने तरकारीजन्य वस्तु स्वस्थ हुने बताउनुभयो । कतिपय किसानले टनेल लैजाने र सही सदुपयोग नगर्ने गरेको पनि पाइएकाले त्यसो नगर्न किसानलाई प्रमुख मादेनले आग्रह पनि गर्नुभयो । तरकारी उत्पादन गरेर हरेक किसान आत्मनिर बनुन् भन्ने नगरपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ । 

उपभोक्ताको चाहाना स्वस्थवर्द्धक उपभोग्य वस्तुमा हुने हुँदा टनेललाई सही सदुपयोग गरी स्वस्थ तरकारी उत्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत रिमालले किसानलाई आग्रह गर्नुभयो । यता बोलपत्रको माध्यममार्फत गुणस्तरीय टनेल सामग्री ल्याएर किसानलाई वितरण गरेको वडाध्यक्ष निरौलाले बताउनुभयो । वडाले उपलब्ध गराएको टनेललगायत सामग्रीको सही सदुपयोग भए-नभएको किसानको घरघरमा पुगेर अनुगमन गर्ने पनि उहाँले दाबी गर्नुभयो ।

सदरमुकाम फुङ्लिङ बजार नजिकको वडा भएकाले दोखुका अधिकांश किसान तरकारी तथा फलफूल खेतीमा संलग्न रहँदै आएका छन् । उनीहरूले उत्पादन गर्ने गोलभेँडा, काउली, रायो साग, खुर्सानी, भिँडा, सिमी, मुला, गाजर लगायतका तरकारीजन्य वस्तुहरू फुङ्लिङमा मङ्गलबार र शनिवार लाग्ने हाटमा बिक्री गर्ने गरेका छन् भने केही उत्पादन जिल्ला बाहिरसमेत निर्यात हुने गरेको बताइएको छ ।