• ९ मंसिर २०८१, आइतबार

विवाहपछि सफल अभिनेत्री

blog

अभिनेत्री केकी अधिकारी र आँचल शर्मा ।

काठमाडौं, चैत ७ गते। विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्। 

सदाबहार अभिनेत्रीको परिचय बनाउनुभएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गर्नुभयो। ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उहाँको विवाह भएको थियो। विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुनुहुन्छ। यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उहाँको व्यस्तता उस्तै छ। 

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिनुभएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल हुनुभयो। “मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ। यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ। यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो”, अभिनेत्री थापाले भन्नुभयो, “आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन। मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो।” अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गर्नुभएको सफलता उदाहरणीय नै छ। सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय हुनुहुन्छ। 

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ। विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ। श्रीमानको साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ। म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”, अभिनेत्री शर्माले भन्नुभयो। उहाँले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ।  रासस