• ९ पुस २०८१, मङ्गलबार

खेतका गरामा लिन्डे टिप्नेको भीड

blog

डोल्पा समाचारदाता

डोल्पा, चैत ६ गते । डोल्पाको त्रिपुराकोटमा खेतका गराकान्लातिर लिन्डे अर्थात् सवारी साग खोज्नेको भीड नै लाग्ने गरेको छ। स्थानीय भाषामा लसुनी भनिने यो साग खोज्न शनिबारको दिन त बालबालिकासहितको ठूलै मेला लाग्छ।

बिनाखेती प्राकृतिक रूपमा खेत तथा वनपाखामा प्राप्त हुने लिन्डे साग पछिल्लो समय स्थानीयको भान्छामा प्राथमिकतासाथ पाक्दै आएको छ। खडेरीका कारण यो वर्ष लिन्डे साग ढिला पलाएकाले चैतको पहिलो साताबाट साग टिप्नेको भीड खेततिर देखिन थालेको हो। अन्यथा वर्षा छिटो भए फागुनको दोस्रो सातादेखि नै लिन्डे सागका पारखी खेततिर चहार्न थाल्छन्। यो साग विशेषगरी डोल्पाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, खदाङ ठूलीभेरी नगरपालिकाको मोतीपुर, जुफाल र दुनैमा पाइने गर्छ। 

खानाका लागि स्वादिष्ट मानिने सवारी साग (लिन्डे)को सेवनले पाचन प्रणालीमा सहयोग गर्ने, ग्यास्टिक र रक्तअल्पता हुन नदिने स्थानीय रविप्रसाद न्यौपानेले बताउनुभयो। सिँचाइ सुविधा भएमा सधैँजसो यो साग उपलब्ध हुन सक्छ। डोल्पाका लिकु, पहडा, माझफाल, सहरतारा, रह, काइगाउँलगायत स्थानबाट लिन्डे साग टिप्न त्रिपुराकोट आउने गरेको बताइन्छ।