• ९ पुस २०८१, मङ्गलबार

पिउने पानीको सधैँ अभाव

blog

कालीकोट समाचारदाता

कालीकोट, चैत ६ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पिउने पानीको अभाव रहेको छ। प्रहरी गणमा रहेको पानी ट्याङ्कीबाट सशस्त्र प्रहरी गुल्म, जिल्ला कारागार, डिभिजन वन कार्यालय, मालपोत कार्यालय र केही पहुँचवालाको घरमा दिनभरजसो पानी आपूर्ति हुने गरेकाले सर्वसाधारणलाई पिउने पानी अभाव भएको बताइन्छ।

खानेपानीको व्यवस्थापन गरिरहेका खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले आफूले जतिसक्दो पानी पु-याउने प्रयास गरे पनि सफल नभएको बताउनुभयो।

स्थानीय उर्मिला शाहीका अनुसार हप्ताको एक दिन आउने पानी पनि अहिले बन्द भएको छ। सरकारी कार्यालयमा महिनौँदेखि जम्मा भएको पानी पिउन बाध्य भएको शाहीले बताउनुभयो। 

२०५५ सालदेखि मान्ममा बस्दै आउनुभएका बलप्रसाद सज्यालले त्यस बेला मानिसको बस्ती धेरै नभए पनि पानीको समस्या रहेको बताउनुभयो। उहाँले जिल्ला सदरमुकामको पिउने पानी समस्यामा धेरै छलफल भए पनि दिगो समाधानको पहल हुन नसकेको बताउनुभयो।