• १३ साउन २०८१, आइतबार

‘हाइड्रो भिलेज’ बन्यो नारच्याङ

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), चैत ६ गते । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए । 

दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाले स्थानीय प्रभावितका लागि प्राथमिक सेयर जारी गर्दा यहाँका अधिकांशले सानोतिनो लगानी गरे । प्रतिकित्ता एक सय रुपियाँमा खरिद गरेको सेयर गाउँलेले एक हजार दुई सय रुपियाँसम्ममा बिक्री गरे । सेयर बिक्री गरेर नारच्याङवासीले राम्रो आम्दानी गरे ।   

“एक सय रुपियाँमा खरिद गरेको सेयर अहिले आठ सय पुगेको छ । दुई वर्षअघिको ५० हजारको लगानी बढेर अहिले चार लाख पुग्यो । अघिल्लो वर्षको मुनाफाबाट १० प्रतिशत नगद मुनाफा पनि पाएँ,” नारच्याङका युवा पुनले भन्नुभयो । 

मिस्त्री खोला जलविद्युत् आयोजनाले प्रभावित स्थानीयवासीका लागि बढीमा पाँच लाख रुपियाँको आईपीओमा लगानी गर्न आह्वान गरेको थियो । उनीहरूले आफ्नो क्षमताअनुसारको लगानी गरे । अन्नपूर्ण–४, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भन्नुभयो, “यहाँका ९५ प्रतिशतले आयोजनामा धेरैथोरै सेयर पाएका छन् । गाउँमा जलविद्युत् आयोजना भित्रिएपछि सानोतिनो लगानीको अवसर प्राप्त भएको छ ।’’ 

मिस्त्री खोला जलविद्युत् आयोजनाले स्थानीयलाई सेयरमा लगानी अवसर दिएको र त्यो सेयरबाट राम्रो आम्दानी भएकाले अहिले नारच्याङवासी सेयर लगानीमा आकर्षित भएका छन् । “एक दशकअघि दुर्गम भनिने नारच्याङ अहिले सुगमभन्दा कम छैन । जलविद्युत्मा लगानीका पैसा बचत गर्ने बानीको विकास भएको छ । गाउँघरमै लगानी गर्ने अवसर प्राप्त भएको छ,” स्थानीय प्रभा मावि व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले भन्नुभयो । राम्रो आम्दानी भएपछि अहिले आफूलगायत नारच्याङवासीले सेयरमा लगानी गर्न पैसा जम्मा गर्न थालेको टेकबहादुर पुनले बताउनुभयो ।

अहिले नारच्याङमा सानाठूला गरी नौवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना र पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नीलगिरि १ र २ गरी ११० मेगावाट र छ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । 

जलविद्युत्मा लगानी र रोजगारीले यहाँको जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ । आर्थिक अवसर देखेर छिमेकी गाउँबाट बसाइँ सार्न थालेका छन् । यहाँबाट सहर बजारतिर बसाइँसराइ कमी आएको तेज गुरुङले बताउनुभयो । नारच्याङ गाउँमा लगानीको अवसर सिर्जना हुन थालेपछि छिमेकी पाउद्वार गाउँबाट बसाइँसराइ गरेर आएको फत्तबहादुर तिलिजाले बताउनुभयो । जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेपछि अहिले नारच्याङ ‘हाइड्रो भिलेज’ भनेर परिचित हुन थालेको छ ।