• ९ पुस २०८१, मङ्गलबार

विद्यार्थीलाई सवारी (लिण्डे) साग टिप्न चटारो

blog

त्रिपुरासुन्दरी नगरपालिका –१ त्रिपुराकोटमा खेतका गडाहरुमा सवारी (लिण्डे) साग टिप्दै वालवालिकाहरु । तस्बिर : बिष्णुप्रसाद देबकोटा

बिष्णुप्रसाद देबकोटा

डोल्पा, चैत ५ गते । हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटका खेतका गडाहरुमा शनिबारको दिन बालबालिकाहरू साग टिप्न व्यस्त देखिए । उनीहरूलाई देख्दा लाग्यो उनीहरू हरियालीमा रमाइरहेका छन् । तर वास्तविकता प्रकृतिप्रदत्त सवारी साग टिप्नको लागि खेतका गडाहरुमा विद्यार्थी चहारेका हुन् ।

पछिल्लो समय प्रकृतिप्रदत्त सवारी साग (लिण्डे साग) प्रति मानिसहरूको आकर्षण बढ्दै जान थालेपछि विशेषगरी शनिवार स्कुले बालबालिका र अन्य दिनमा महिला–पुरुषहरू खेतका गडाहरुमा साग टिप्दैगरेको देख्न सकिन्छ ।

खेती गरिरहनु नपर्ने प्रकृतिले नै डोल्पाका बनपाखा र खेतबारीको कान्लाको डिलमा उमारिरहेको सवारी साग अर्थात् लिण्डे साग पछिल्लो समयमा मानिसहरूको रुचिको प्राथमिकतामा पर्दैआएको छ ।

फागुनको दोस्रो सातादेखि सवारी सागका पारखीहरू खतका गडाहरुमा देखिदैआएकोमा यो वर्ष खडेरीका कारण साग ढिला पलाएकाले चैतको पहिलो साताबाट साग टिप्नेहरूको जमात देखिन थालेको हो । यो साग बिशेषगरी डोल्पाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, खदाङ्ग ठूलीभेरी नगरपालिकाको मोतीपुर, जुफाल र दुनैमा पाइन्छ ।

बाह्रैमास उम्रिरहने र खानाको लागि स्वादिष्ट मानिने सवारी साग (लिण्डे) को सेवनले पाचन प्रणालीमा सहयोग गर्नुका साथै ग्याष्टिक र रक्तअल्पता हुन नदिनका लागि मानव जीवनमा सहयोग गर्ने स्थानीय बयोबृद्ध रबिप्रसाद न्यौपानेको भनाइ छ । 

हिमाली जिल्लाका बासिन्दाका लागि बाह्रैमास हरियो सागको रूपमा पाइने भएकाले स्वास्थ्यका लागि बहुउपयोगी सब्जीको रूपमा लिण्डे (सवारी साग) लाई लिने गरिन्छ । त्रिुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटका बनपाखा र खेतबारीको कान्लाका डिलहरूमा यत्तिखेर यो साग टिप्न महिला र बालबालिकाहरू व्यस्त छन् ।

डोल्पाका लिकु, पहाड, माझफाल, सहरतारा, रह, काइगाउँलगायतका स्थानबाट लिण्डे  साग टिप्नका लागि मानिसहरू त्रिपुराकोटमा आउने गर्छन् । लिण्डे अर्थात् सवारी सागलाई स्थानीय भाषामा कसै कसैले लसुनी साग पनि भन्ने गर्छन् । लसुनको गुण र विशेषता पाइने भएकाले पनि यसलाई लसुनी साग भन्ने गरेको जानकारहरू बताउँछन् ।