• १३ साउन २०८१, आइतबार

कौसी तरकारी खेती गर्न बिरुवा वितरण

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ५ गते । गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन र्फ स्थानीयहरू आकर्षित देखिएका छन् ।  कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ । 

कौसी खेतीमा मौसमअनुसारका तरकारी उत्पादन हुने गरेका छन् । यसका लागि रेसुङ्गा नगरपालिका एक नम्बर वडाले विगतका वर्ष देखि नै बजेटको व्यवस्था गरेको छ । वडाले यस आर्थिक वर्षमा रु ५० हजार तरकारीका बिरुवा उत्पादन तथा वितरणका लागि छुट्टाएको थियो । स्थानीय सक्रिय महिला समूहले सोही बजेट बराबरको लागतमा तरकारीका बिरुवा उत्पादन गरी वितरण गरेका छन् । 

वडा सदस्य निर्मला खत्री र कार्यपालिका सदस्य शोभा नेपाली तथा रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर खनिता खत्रीको विशेष उपस्थितिमा तरकारीका बिरुवा वितरण गरिएको हो । यस वडाका ६ सय घरधुरीलाई ४ वटा तरकारीका बिरुवाका दरले वितरण गरिएको हो । जसमा तिते करेला, काँक्रो, लौका, घिरौँलालगायतका बिरुवा छन् ।

सक्रिय महिला समूहले भाडामा लिएको जग्गामा नर्सरी स्थापना गरी तरकारीका बिरुवा उत्पादन गरेको थियो । यस समूहमा आबद्ध २१ जना महिला सदस्यले नर्सरीमा बिरुवा उत्पादन गर्नुभएको थियो । तरकारीका बिरुवा उत्पादनका लागि समूहले नर्सरी स्थापना, बीउ खरिद, बाहिरको कुमारी माटोको व्यवस्थापन, मल, बालुवा, प्लास्टिक गुम्बोज, थुँगा, बाँस, जार, पानी, औजार खरिद गरेको थियो ।

“कोभिड १९ को महामारीपछि निकै सचेत भएको छौँ ।” समूहकी अध्यक्ष कल्पना पन्थीले भन्नुभयो, “कोभिड १९ को समयमा घरबाहिरको तरकारी प्रयोग गर्न पनि डर लाग्यो । जसका कारण आफ्नै घरको छतमा कौसी खेतीमा लाग्न उत्प्रेरित भयौँ । व्यावसायिक रूपमा उत्पादन नभए पनि घरको आत्मनिर्भरका लागि निकै मद्दत पुर्‍याएको छ ।” आफ्नै घरमा उत्पादन भएका ताजा तरकारी प्रयोग गर्न पनि प्रेरणा मिलेको अध्यक्ष पन्थीले बताउनुभयो ।