• १३ साउन २०८१, आइतबार

नयाँ गन्तव्य विकास गर्नुपर्ने

blog

काठमाडौँ, चैत २ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि विविधीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

महामारीका कारण थला परेको पर्यटन क्षेत्र पुनः चलायमान बनाउन नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवद्र्वनमार्फत सङ्ख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्वि गरी थप रोजगारी सिर्जना गरी प्राप्त लाभको समन्यायीकरण वितरण गरेर गरिबी निवारण गर्नुपर्ने देखिएको छ । हाम्रो कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क र आन्तरिक तथ्याङ्कमा अन्तर देखिएकाले सही तथ्याङ्क सङ्कलनका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन बोर्डले काम गरिरहेको छ ।” 

त्यस्तैगरी संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व पर्यटन सङ्गठनका एक्सटर्नल रिलेसन निर्देशक बेका जकेलीले पर्यटनको आयाम परिवर्तन हुँदै गएको सन्दर्भमा पर्यटकीय योजना तर्जुमादेखि प्रवद्र्धनात्मक कार्यका लागि गुणस्तरिय तथ्याङ्क आवश्यक हुने बताउनुभयो ।

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले विश्व पर्यटन लयमा फर्किन थालेको पछिल्लो अवस्थामा कार्यशालामा विज्ञहरूबीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताउनुभयो ।  

पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदानप्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी शुक्रबारसम्म चल्ने कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्यान्ड, स्पेनलगायत ११ देश तथा यूएनडब्लूयूटीओका प्रतिनिधि सहभागी छन् ।