• १३ असोज २०८१, आइतबार

ऋण तिर्ने बहानामा खानेपानी महसुल वृद्धि गर्दा उपभोक्ता मारमा

blog

इलाम नगरपालिकामा ल्याउन लागिएको सहरी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा । तस्बिर: कोकिला

कोकिला ढकाल

इलाम, चैत २ गते । इलाम नगरपालिकामा खानेपानी आपूर्ति सहज गराउन अहिले सहरी खानेपानी आयोजनाको निर्माण भइरहेको छ । अझै यो आयोजना निर्माण सम्पन्न गर्न अझै केही समय लाग्नेछ । यो आयोजना हस्तान्तरण गर्न त एक–डेढ वर्ष नै लाग्नेछ । 

एसियाली विकास बैङ्कको ७० प्रतिशत सहयोग र नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग तथा उपभोक्ताको पाँच प्रतिशत साझेदारीमा निर्माण नयाँ आयोजना निर्माण भइरहेको छ । यो आयोजनामा ल्याउन लागिएको सन्दकपुर गाउँपालिकामा रहेको राते खोला र ठाडे खोला मुहानको पानी जोड्न अझै एक साता लाग्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताउनु भयो । 

यो आयोजनाको सुरुवाती चरणमा अनुमानित लागत ८४ करोड रुपियाँ थियो । तर ५७ करोड ९५ लाख रुपियाँमा ठेक्का लागेर अहिले काम भइरहेको छ । आयोजना सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण नै नभएको आयोजनाको ऋण तिर्न भन्दै इलाम नगरपालिकाले पुरानै आयोजनाको पानीको महसुल दर भने वृद्धि गरेको छ । गत असोज महिनादेखि पुरानो आयोजनाको पानीलाई परीक्षणका लागि भन्दै नयाँ आयोजनाको टङ्की र पाइपलाइन प्रयोग गरेर अहिले नगरपालिकामा पानी सञ्चालन गरिएको छ । यसरी नयाँ आयोजनाको पाइपबाट पानी आउन थालेपछि उपभोक्तालाई पनि नयाँ आयोजनाको पानी आयो भन्ने भ्रम छ । नयाँ आयोजनाको पाइपलाइनबाट पुरानै आयोजनाको पानी आएपछि परीक्षणकाल भन्दै महसुल उठाउन बन्द गरिएको थियो । 

इलाम नगरपालिकाले गएको माघ–५ मा सम्पन्न कार्यपालिका बैठकबाट खानेपानीको महसुल दर बढाउने निर्णय गरेको थियो । यो निर्णय गरेपछि नगरपालिकाले गएको मङ्सिर महिनादेखि यताको महसुल दरको बढेकै अनुसार बिल काटेपछि भने उपभोक्ताहरू अत्तालिएका छन् । अहिले एक उपभोक्ताको मासिक दुई हजारदेखि दश हजार रुपियाँसम्म महसुल कायम भएपछि पानी खानुको अर्को पिरलो उपभोक्तालाई छ । 

बुधवार नयाँ आयोजनाकै विषयमा जानकारी दिन उपभोक्ता समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाकै अध्यक्ष विप्लव भट्टराईले पछिल्लो महिनाको तीन हजार छ सय रुपियाँको महसुल बिल आएको बताउनुभयो । ‘उपभोक्ता समिति र आयोजनाका इन्जिनियरहरू भन्छन् मिटर बिग्रिएको छैन, गेट भल्वहरु बिग्रिएका छैनन्, न्यूनतम शुल्क पुरानै छ, अब सर्वसाधारणले कसरी जान्ने के कारणले महसुल बढ्यो ?’ अध्यक्ष भट्टराईले भन्नुभयो । नगरकार्यपालिकाले महसुल बढाउने निर्णय गरेर पनि विरोधका डरले गुपचुपमै राखिदिएपछि उपभोक्तामा भ्रम सृजना भएको हो । 

यता उपभोक्ता समितिका अध्यक्षसमेत रहेका इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने न्यूनतम शुल्क पुरानै कायम गरिएको दाबी गर्नुभयो । तर थापाले नगर विकास कोषको २० करोड रुपियाँ २० वर्षभित्र तिर्नुपर्ने हुँदा महसुल बढी भएको बताउनुभयो । आयोजना शुरु हुन अगावै कुल लागतको पाँच प्रतिशत अर्थात् चार करोड १८ लाख रुपियाँ उपभोक्ताले तिरिसकेका छन् । 

नयाँ आयोजना सञ्चालन नै नभई पुरानो आयोजनाको पानीबाटै नगरपालिकाले महसुल वृद्धि गर्दा उपभोक्ता चर्को मारमा परेको उपभोक्ताको गुनासो छ । ‘यसरी नै पानीको पैसा तिर्नुपर्ने हो भने हामी जस्ता श्रमिकले यहाँ नबसे हुने रहेछ ।’ इलाम कुलधाराकी दिलमाया श्रेष्ठले भन्नुभयो । 

यता नगरपालिकास्थित खानेपानी शाखा प्रमुख दीपक गुरागाईँले मङ्सिर, पुस र माघको महसुल कार्यपालिकाले हेरफेर गरेर बढेको दरमै लिइएको बताउनुभयो । नगरपालिकाले माघमा निर्णय गरेर मङ्सिर यता नगरले साबिकमा आठ हजार लिटर वा आठ युनिटसम्मको न्यूनतम महसुल अढाई सय रुपियाँ लिइरहेको छ । ‘न्यूनतम महसुल बढाइएको छैन त्यसभन्दा माथिको महसुल भने बढाएको छ ।’ गुरागाईंले भन्नुभयो । 

नगरपालिकास्थित खानेपानी शाखाका अनुसार आठदेखि दश युनिटसम्मको महसुल दर साबिकमा प्रतियुनिट २५ रुपियाँ रहेकामा मङ्सिर यता ३५ रुपियाँ कायम गरिएको छ । १० देखि १५ युनिटसम्म प्रतियुनिट ३० रुपियाँ रहेकामा बढाएर ४५ रुपियाँ बनाइएको छ । १५ देखि २० युनिटसम्मको ४० रुपियाँ रहेकामा ६० रुपियाँ बनाइएको छ भने २० देखि ३० युनिटको प्रतियुनिट ५० रुपियाँ रहेकामा बढाएर ७५ रुपियाँ बनाइएको छ । यस्तै, ३० देखि सय युनिटसम्मको महसुल साबिकमा प्रतियुनिट ५५ रुपियाँ रहेकामा अहिले बढाएर ८५ रुपियाँ पुर्याइएको छ । सय युनिटभन्दा माथि प्रतियुनिट ६० रुपियाँ रहेकामा बढाएर ९० रुपियाँ बनाइएको छ ।