• १३ साउन २०८१, आइतबार

सात करोड क्षतिपूर्ति भुक्तानी

blog

काठमाडौँ, चैत २ गते । कुवेतमा रहेको नेपाली दूतावासले १०१ जना नेपाली श्रमिकलाई सात करोड २७ लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम नेपाल पठाएको छ । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्तिबापत सो बराबरको रकम नेपाल पठाएको हो । 

दूतावासका अनुसार कुवेतको कानुनअनुसार आप्रवासी श्रमिकले कार्यस्थल र सडक दुर्घटनामा परी मृत्यु भएमा मात्रै बीमाबापत क्षतिपूर्ति पाउने व्यवस्था छ । त्यसबाहेक मृतक श्रमिकको परिवारको सङ्ख्या हेरी क्षतिपूर्ति रकम निर्धारण हुने दूतावासको सूचनामा उल्लेख गरिएको छ । 

दूतावासका अनुसार धनुषा जिल्लामा घर भई कुुवेतमा मृत्यु भएका शम्भु साहको परिवारले एक करोड सात लाख ८३ हजार रुपियाँ क्षतिपूर्ति प्राप्त गरेको छ । यो रकम किस्ता–किस्तामा दूतावासमा जम्मा भएको थियो । सन् २०१५ सेप्टेम्बरमा काम गर्ने क्रममा उच्च स्थानबाट झरेर साहको मृत्यु भएको थियो । यस्तै खोटाङका पासाङ दोर्ची शेर्पाका परिवारले ९६ लाख ४२ हजार रुपियाँ क्षतिपूर्ति पाएको दूतावासले जनाएको छ । १८ सेप्टेम्बर २०१८ मा बस दुर्घटनामा परी शेर्पाको मृत्यु भएको थियो । उहाँको काम गर्ने स्थानबाट क्याम्पमा जाने क्रममा बस दुर्घटनामा परी मृत्यु भएको थियो । 

दूतावासले क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति रकम हकवाला व्यक्तिलाई दिने दूतावासले जनाएको छ । कुवेतमा सुतेको अवस्थामा मृत्यु भएका श्रमिकलाई भने क्षतिपूर्ति रकम दिइँदैन । पछिल्लो तीन वर्षमा कुवेतमा सात महिलासहित १४४ जनाको मृत्यु भएकामा पाँच जनाको मात्रै कार्यस्थलमा मृत्यु भएको जनाइएको छ । 

कार्यस्थलमा मृत्यु भएका श्रमिकको हकमा मात्रै त्यहाँ रहेको नेपाली दूतावासले स्थानीय वकिलको सहयोग लिएर मुद्दा लडिदिने गरेको छ । सुतेको अवस्थामा र प्राकृतिक मृत्यु भनेर लेखिएको रिपोर्टमा कुनै क्षतिपूर्ति दाबी गर्न नपाइने दूतावासले जनाएको छ ।