• १३ असोज २०८१, आइतबार

छ महिनामा एउटा मात्र सहकारी अनुगमन

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत २ गते । झापामा पछिल्लो समयमा सहकारी संस्था समस्यामा रहेको चर्चा चलिरहेको छ। कतिपय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेको र सञ्चालकले आफूखुसी कर्जा लिएर सहकारीलाई अप्ठ्यारोमा पारेको गुनासो आउने गरेको छ। 

यस्तो अवस्थामा पनि सहकारी संस्थाको विषयमा स्थानीय सरकार बेखबरजस्तै अवस्थामा रहेको छ। अहिलेसम्म प्रभावकारी अनुगमन हुन सकेको छैन। दमक नगरपालिकामा पनि यस्तै अवस्था रहेको पाइएको छ। नगरपालिकाले बेग्लै सहकारी शाखा बनाएर कर्मचारीको समेत व्यवस्थापन भने गरेको छ। मङ्गलबार दमक नगरपालिकाको ११औँ नगर सभामा आर्थिक विकास समितिका संयोजक इन्द्रबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा छ महिनाको अवधिमा एउटा मात्र सहकारी अनुगमन गरेको प्रतिवेदन पेस गर्नुभयो। 

नगरपालिका स्रोतअनुसार लेखापढी व्यवसायीले सञ्चालन गरेको एक सहकारी संस्थामा सञ्चालकबीच नै झगडा भएपछि नगरपालिकाको टोली पुगेको थियो। त्यसैलाई अनुगमनका रूपमा प्रतिवेदनमा समावेश गरिएको हो। अन्यथा सहकारी संस्थाको विस्तृत अनुगमन नै भएको छैन। एक स्थानीय तह अर्थात् दमक नगर क्षेत्रलाई मात्र आधार बनाएर सञ्चालन भएका सहकारी संस्था मात्र आफूहरूले हेर्न पाउने भएकाले ठूला तथा कार्यक्षेत्र अन्य पालिका भएका सहकारी संस्थाको विषयमा धेरै गुनासो आएको सहकारी शाखाले जनाएको छ। दमकमा सेवा केन्द्र रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले दमक क्षेत्रको मात्र ८५ करोड रुपियाँभन्दा बढी निक्षेप सङ्कलन गरेर सेवा केन्द्र बन्द गरेको छ।

सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाईंका अनुसार आफ्नो कार्यक्षेत्र नभएका सहकारी संस्थाको विषयमा शाखामा गुनासो आएमा सिधै नगरप्रमुख वा उपप्रमुख र न्यायिक समितिमा जान सल्लाह दिँदै आएको अवस्था रहेको छ। नगरपालिकामा भने दैनिकजसो सहकारीको गुनासो आउने गरेको बताइन्छ।

नगरपालिका मातहत अर्थात् नगरपालिका मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाको सङ्ख्या एक सयभन्दा बढी रहेको छ। नगरपालिकाले अहिलेसम्म ती सहकारी संस्थाको अनुगमन गर्न सकेको छैन। बारम्बार ताकिता गर्दा पनि मासिक तथा त्रैमासिक र वार्षिक प्रतिवेदन बुझाउनसमेत सहकारी संस्थाले अटेर गर्ने गरेको सहकारी शाखाको भनाइ छ।