• १३ असोज २०८१, आइतबार

छुरा प्रहारबाट घाइते बीनाको उपचार खर्च अभाव

blog

बिर्तामोड समाचारदाता 

बिर्तामोड, चैत २ गते । झापा कनकाई नगरपालिका–२, सुकेडाँगीमा आफ्नै श्रीमान्को छुरा प्रहारबाट सख्त घाइते ४० वर्षीया बीना लिम्बू उपचार खर्च नहुँदा जीवनमरणको अवस्थामा हुनुहुन्छ। 

गत फागुन २४ गते बुधबारका दिन श्रीमान् पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेपछि उहाँ सख्त घाइते हुनुभएको हो। घाइते बीनाको उपचार नहुँदा जीवन सङ्कटमा परेको हो। 

श्रीमान् श्रीमती अर्काको घरमा डेरा गरी बस्दै आउनुभएको थियो। गत भदौ महिनामा मात्रै भागी विवाह गरेका उहाँहरूबीच विवाह गरेकै बेलादेखि सामान्य खटपट पर्ने गरेको थाहा भएको स्थानीय मेघराज पाठकले बताउनुभयो। हतियार प्रहार गर्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। घाइते श्रीमतीलाई स्थानीय गाउँले र घाइतेका दाजुभाउजूले चन्दा सङ्कलन गरी केही दिन झापा र धरानको घोपामा लगेर उपचार गराए पनि थप उपचार गर्न आर्थिक अभाव भएको हो। उपचार खर्च नभएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेकी भाउजू निर्मला लिम्बूले बताउनुभयो। 

आफूहरू पनि दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकोले उपचारका लागि उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु सोमबहादुर लिम्बूले बताउनुभयो। श्रीमान् पदमबहादुर कुमाल गाउँघरमा रागा, सुगुरलगायतका जनावर काटेर बिक्री गर्ने गरेको र त्यही हतियार प्रयोग गरेर श्रीमतीलाई घाइते बनाएको स्थानीयको भनाइ छ। उपचार अभावमा घाइते बीना हाल बोलचाल गर्न सक्नुहुन्न। उहाँ मृत्यु कुरेर बस्नुभएको छ।  

छुरा प्रहारबाट घाइते बीनाको पेट र फलामको हम्बर प्रहारबाट टाउकोमा चोट लागेकाले दुवै ठाउँमा अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको तर आफूसँग अप्रेसन गर्ने रकम नभएको घाइतेका दाजु सोमबहादुर लिम्बूले बताउनुभयो। 

उपचार अभावमा घाइतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाइ छ। पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ।