• १२ असार २०८१, बुधबार

सबै वर्गलाई विकासको मूलधारमा ल्याउनुपर्छ

blog

काठमाडौँ, फागुन २७ गते । राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ। 

आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले प्रविधिमा महिलाको पहुँच बढाउन प्रेरित गरिएको उल्लेख गर्दै विकासमा फड्को मारेको प्रविधिमैत्री सीप सिकेर सकारात्मक फाइदा लिन जान्नुपर्ने बताउनुभयो।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्या सिन्हाले राज्यको जुनसुकै तह र पदमा पुगे पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई प्राथमिकता दिन सके मात्र प्राप्त अवसरको सही सदुपयोग हुने बताउनुभयो।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाले आयोगलाई खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, श्रमिक, किसान, अल्पसङ्ख्यक कर्णालीमा बसोबास गर्नेलगायत ११ क्षेत्रलाई समुन्नत बनाउन जिम्मेवारी दिइए पनि न्यून बजेटका कारण लक्ष्यअनुसार काम गर्न समस्या परेको बताउनुभयो।

नेपाल अपाङ्ग महिला सङ्घका महासचिव देवु पराजुलीले प्रविधिको सहयोगले रोजगारी सिर्जना गर्न सक्ने सीप अपाङ्गता भएका व्यक्तिलाई दिन सके अन्यत्र रोजगारी कम पाउने यस वर्गका लागि निक्कै लाभदायी हुने विचार व्यक्त गर्नुभयो। आदिवासी जनजाति आयोगका सदस्य रिना रानाले नेपाली समाजका हरेक वर्ग, क्षेत्रमा समानताको अनुभूति गर्न अझै लामो समय लागे पनि आ–आफ्नातर्फबाट प्रयास जारी राख्नुपर्ने बताउनुभयो।