• १३ साउन २०८१, आइतबार

बाँकेमा तीन हजार होटल सञ्चालन

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन २५ गते । भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ । 

नेपालगञ्जबाट हुम्ला सिमकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएका कारण खास गरी भारतीय पर्यटक बढ्न थालेसँगै होटल व्यवसायमा लगानी थपिने क्रम पनि बढेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले बताउनुभयो । अहिले बाँकेमा सञ्चालनमा रहेका सबै किसिमका होटलमा एकै पटक १० हजारजतिलाई राख्न सकिने पाँच हजार कोठा रहेको उहाँले जानकारी दिनुभयो । 

कोरोना महामारीको सङ्क्रमण कम भएसँगै भारतीय धार्मिकलगायतसहित आन्तरिक पर्यटकको आवागमन बढेपछि सबै किसिमका होटलको व्यापार पुनः राम्रो हुन थालेको सङ्घले जनाएको छ । 

होटल व्यवसायी सङ्घका अनुसार बाँकेमा हालसम्म कोहलपुर र नेपालगञ्जमा गरेर दुईवटा पाँचतारे होटल खुलिसकेका छन् भने दुईवटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य भीम कँडेलले बताउनुभयो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको केन्द्रीय सदस्य कँडेलको भनाइ छ । यस क्षेत्रका आधा दर्जनभन्दा बढी होटलमा क्यासिनो सञ्चालनमा आएपछि क्यासिनो खेल्न आउने भारतीयको सङ्ख्या बढ्न थालेपछि होटलको व्यवसाय राम्रो हुँदै गएको उहाँले बताउनुभयो । 

नेपालगञ्जमा रहेको क्षेत्रीय विमानस्थल, नेपालगञ्ज–पोखरा उडान र भारतका विभिन्न सहरसँग सडक यातायातमार्फतको कनेक्टिभिटीका कारण यहाँ पर्यटक आगमन बढ्दै गएको छ । 

बाँके, बर्दिया, सुर्खेत, कर्णाली, रारा, स्वर्गद्वारी, कर्णाली चिसापानीलगायत विभिन्न स्थानमा जाने आन्तरिक पर्यटक पहिले नेपालगञ्ज र कोहलपुर नै पुग्नुपर्ने भएकाले पनि होटलको भविष्य राम्रो रहेको सङ्घले जनाएको छ । पर्यटक आगमन बढ्नुका साथै सरकारी र गैरसरकारी निकायका ठूला कार्यक्रम पनि बढ्न थालेपछि होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताउनुभयो । 

यसैगरी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको गत केही वर्षको निरन्तर प्रयासले भारतीय पर्यटक बढ्न थालेपछि होटल व्यवसायलगायत अन्य आर्थिक गतिविधि फस्टाउँदै गएको बताउनुभयो । 

भारतका एक सयभन्दा बढी पर्यटन व्यवसायी बोलाएर यो क्षेत्र देखाउनुका साथै वागेश्वरी मन्दिरलाई मुख्य धार्मिक पर्यटन क्षेत्रका रूपमा स्थापित गर्न सुरु गरिएको साप्ताहिक महाआरतीले पनि भारतीय पर्यटक आउने क्रम बढेको नाट्टा बाँकेको ठम्याइ छ ।