• १३ असोज २०८१, आइतबार

जलवायु परिवर्तनको असर महिलामा

blog

खुम्जुङ (सोलुखुम्बु), फागुन २५ गते  । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ।

खुम्बु पासाङल्हमु गाउँपालिका र साथसाथै संस्थाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाले धेरै समस्या भोगेको देखेको बताउनुभयो। 

राज्यले नीतिगत रूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो। अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु।” 

पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताउनुभयो। उहाँले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकूलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवाज उठाउने धारणा राख्नुभयो। 

जलवायुविज्ञ डा. माधव कार्कीले हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताउनुभयो। उहाँले जलवायु अनुकूलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाले भोगेको विषय आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो।

कृषि मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले हरेक स्थानीय तहमा जलवायु अनुकूलनका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष यूएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८)मा नेपालले यस क्षेत्रका समस्या उजागर गर्नुपर्ने बताउनुभयो।

खुम्बु पासाङल्हमु गाउँपालिकाका उपाध्यक्ष टासिल्हमु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। त्यस अवसरमा खुम्बु महिला समूहका प्रतिनिधिले स्वास्थ्य, पिउने पानी र पर्यावरणीय समस्या झेल्नु परेको गुनासो सुनाउनुभएको थियो। 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाले भोगेको समस्या आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने विचार व्यक्त गर्नुभयो।