• १३ असोज २०८१, आइतबार

धरानमा ११३ औँ नारी दिवस मनाइयो

blog

धरानमा मनाइएको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मानित प्रतिभा ।

निशा राई

धरान, फागुन २४ गते। धरानमा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइएको छ। “लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार” भन्ने राष्ट्रिय नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धरान उपमहानगरपालिका, महिला सञ्जाल धरान गरेर ४६ वटा सङ्घसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको छ। 

महिलाले आफूलाई पहिला देशको नागरिक भएको महसुस गर्नुपर्ने र अनि मात्र कसैको आमा, श्रीमती, छोरी सम्झनु पर्ने कार्यक्रमको अध्यक्ष धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्र विक्रम बेघाले बताउनुभयो। उहाँले  महिला बिनाको घर कल्पना गर्न नसकिने बताउनुभयो। 

महिला दिवसको अवसर पारेर विभिन्न पेसामा आबद्ध सात जना मजदुर महिलालाई सम्मान गरिएको थियो। जसमा यातायात श्रमिक महिला पहिलो महिला ट्याम्पो चालक मालती तामाङ, हस्तकलाकर्मी अपाङ्ग महिला मनमाया राई, पवित्र नर्सरीको पहिलो महिला पुष्प व्यवसायी कल्पना लिम्बु, ढाका व्यवसायी गृहश्रमिक महिला प्रेमकुमारी राई र धरान उपमहानगरपालिकाको सबै भन्दा उत्कृष्ट जिम्मेवारी वहन गर्ने महिला सरसफाइकर्मी रुपा परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

महिला दिवसको अवसरमा महिला सञ्जाललगायत ४६ वटा संस्थाले धरान भानुचोकबाट र्‍याली कार्यक्रम सुरु गरेर छाताचोक हुँदै धरान उपमहानगरपालिकामा समापन गरिएको थियो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानको प्रहरी नायब उपरीक्षक नवराज मल्ल, प्रहरी निरीक्षक भिमराज राई, धरान उपमहानगरपालिकाको वडाध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो।