• १३ वैशाख २०८१, बिहिबार

माइती नेपालको आयोजनामा फुटसल प्रतियोगिता

blog

फुटसल प्रतियोगिताको विजेता टोली सदस्यलाई बधाई दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि महिला अधिकारकर्मी एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा । तस्बिर : माइती नेपाल

काठमाडौं, फागुन २४ गते। माइती नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ। माइती नेपालले लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले माइती नेपालको महिला पुनर्स्थापना केन्द्रमा सहभागीबीच बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि महिला अधिकारकर्मी एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले खेलकुदमा महिलाको सहभागितामा जोड दिनुभएको छ । उहाँले महिलालाई सबै तहमा एथलेटिक्समा थप लगानी गर्न सरकारलाई आह्वानसमेत गर्नुभएको छ।

राणाले भन्नुभयो, ‘‘महिला सशक्तीकरण र सामाजिक परिवर्तनका लागि खेलकुद सशक्त साधन हुनसक्छ। हामीले महिलाहरूलाई खेल्न, प्रतिस्पर्धा गर्न र खेलकुदमा सफल हुनका लागि थप अवसर सिर्जना गर्नु आवश्यक छ।’’ 


कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नारी दिवस अर्थात् नारीको पर्व एक दिन मात्र नभई वर्षभर मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले नारीहरू सबैका लागि र समग्र देशका लागि प्रेरणाको स्रोत बनेको भन्दै बधाइसमेत दिनुभयो।  फुटसल प्रतियोगिताका विजेतालाई पदक र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ। उक्त अवसरमा माइती नेपालका कर्मचारी र पाहुनाबीच डोरी तान्ने खेल खेलाइएको थियो। 


कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले कार्यक्रमलाई सफल बनाउने खेलाडी, आयोजक र समर्थकलाई धन्यवाद दिनुभयो। माइती नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको उत्सव, महिला सशक्तीकरण, लैङ्गिक हिंसा र शोषणको अन्त्य गर्न प्रयासलाई समर्थन गर्न पुनरुत्थान गरेको छ। माइती नेपालले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्दै, मानव बेचबिखन र शोषणलाई रोक्ने एवम् शोषणबाट बचेकालाई सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ।