• १३ साउन २०८१, आइतबार

काठमाडौँ उडान गर्दै सिचुवान

blog

काठमाडौँ, फागुन २४ गते । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । 

कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३५ मा उडान भर्ने उक्त जहाज चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातिको ९ बजे अवतरण गर्नेछ ।

अस्ट्रेलिया र जापान भ्रमणका लागि छेङ्दु ट्रान्जिट भएर जाने यात्रुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँदेखि मेलबर्नसम्मको एकतर्फी भाडा ७९ हजार ९९९ रुपियाँ र काठमाडौँदेखि नारितासम्मको एकतर्फी भाडा ६५ हजार ९९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै उडानमा ४६ केजी चेकइन लगेज र सात केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ ।

यो हवाई सेवाको सुरुवातसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुले छेङ्दुमा साढे चार घण्टाको ट्रान्जिट पर्खिनुपर्नेछ । नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टका रूपमा काम गर्दै आएको छ ।

महामारीअघि नेपालमा चीनबाट चाइना एयरलाइन्स, चाइना इस्टर्न, चाइना साउथन र सिचवान एयरलाइन्सले उडान भर्दै आएका थिए । चाइना एयरलायन्सको गत जेठबाटै छेङ्दु–काठमाडौँ पुनः उडान सुरु गरिसकेको छ । 

त्यस्तै चाइना साउथनले पनि गत मङ्सिर दोस्रो सातादेखि पुनः ग्वाङझाउ–काठमाडौँ उडान गर्दै आएको छ । 

गर्मीयाम (समर सेड्युल)अनुसार चाइना इस्टर्नले पनि उडान अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ । नेपालबाट हिमालय एयरलाइन्सले चीनको कुनमिङमा उडान गर्दै आएको छ ।