• १४ जेठ २०८१, सोमबार

सन्दर्भ नारी दिवस : उपसभामुखसँगको भिडियो कुराकानी

दाजुहरू स्कुल जानुहुन्थ्यो, म घरमै सिन्काले धुलोमा कोरेर बस्थेँ

blog

राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारीले दुई कार्यकाल देशको अभिभावकत्व ग्रहण गरिसक्नुभएको छ। राज्यका हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई संविधानले सुरक्षित गरेको छ। नेपालका हरेक परिवर्तनमा महिलाको भूमिका विशेष छ। नयाँ संविधानले महिलालाई अधिकारसम्पन्न बनाएको छ तर व्यवहारमा त्यो कार्यान्वयन अझैसम्म चुनौतीपूर्ण देखिन्छ। सरकारले नारी दिवसमा हरेक वर्ष सार्वजनिक बिदा दिए पनि यो बिदालाई महिलाले उत्साहका साथ मनाउन सकिरहेका छैनन् । भनिन्छ समाजको सकारात्मक परिवर्तन नारीको नेतृत्वमा मात्र सम्भव हुन्छ। नारी दिवसको सन्दर्भमा सङ्घीय संसद् प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानासँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेलले गरेको कुराकानी :


नेपाली समाजमा छोरी जन्मनु, बढ्नु र नारी भएर बाँच्नु कत्तिको सङ्घर्षपूर्ण छ ? 

मैले सानो हुँदादेखि नै छोरीमाथि भएको विभेद देखेकी छु। समाज विभेदपूर्ण नै छ। प्राथमिक तहदेखि नै आमाबुवाले शिक्षा दिए मात्र लैङ्गिक समानता हुन्छ। समाज आधुनिक भएको छ। डिजिटल दुनियाँमा कसरी सम्मान दिन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नारीलाई कसरी अवसर दिने भन्ने कुरामा सरकारले पहल गर्नुपर्छ। हरेक परिवारले डिजिटल विश्वमा लैङ्गिक समानता कसरी सिर्जना गर्न सक्छौँ भनेर प्रयास गर्नुपर्छ। 

छोरी वा महिला भएकै कारण समाजमा विभेद भोग्नु परेको तीतो अनुभव छ ? 
मसँग छोरी भएकै कारण विभेदको अनुभव गरेको तीतो अनुभव पनि छ। दाजुहरू स्कुल पढ्न जानुहुन्थ्यो। म घरमै सिन्काले धुलोमा कोरेर पढ्थेँ। मैले कथामा पनि यो कुरा भनेको छु। म जङ्गलमा गाई र बाख्रा चराउँथेँ। सन्थालहरूसँग गिट्ठा र भ्याकुर खोज्थेँ, निगुरो खोज्थेँ। कुनै कुनैले आज म उपसभामुख भएपछि पनि ‘गोठाल्नी’ भनेका छन्। कति राम्रो कुरा, म त गोठाल्नी भएकै कारण अर्ग्यानिक छु। अरूजस्तो विलासी छैन। दुःख भए पनि आमाले पोल्टामा मकै, भटमास र चिउरा लुकाएर खुवाउनुहुन्थ्यो। आमाले मलाई चराले बच्चाले खुवाएजस्तै खुवाउनुहुन्थ्यो। झुपडीभित्र पानी चुहिँदा उहाँले छोपेर राख्नुहुन्थ्यो। आमाले मलाई गरेको प्रेम आज म आश्रमका बच्चाहरूलाई दिइराखेको छु। 

उपसभामुख ‘उप–चुप’ भनेर हेपिएको भन्दै तपाईंले उपलाई ‘उपर’ अर्थात् उच्चो बनाउने बताउनुभएको थियो। त्यसका लागि के पहल गर्नुभयो ? 
मैले उपसभामुखलाई पनि सम्मान गर्नुपर्छ भनेको हुँ। सभामुख नहुँदा मैले सदन चलाउने हो। यो काम सदनभित्र मात्र हो भनेर सोच्नु हुने रहेछ। उपसभामुख पद संविधानको धारा २८४ प्रावधान अनुसार अगाडि बढ्छ। म संवैधानिक परिषद्को सदस्यसमेत हुँ। त्यसभित्र विभिन्न आयोगको जिम्मेवारी पर्छ। सङ्घीय संसद् सचिवालय चलाउनका लागि समिति छ। त्यसमा पनि म सदस्य छु। यो समितिले सङ्घीय संसद्को सम्पूर्ण व्यवस्थापनलाई हेर्नुपर्ने हुन्छ। उपसभामुख पद सम्मानित पद हो। म काम गरेर ‘उप’ भन्ने कुरालाई सम्मानित बनाउने काम गर्छु। त्यसका लागि देशभरका उपमेयरसँग सम्पर्क गरिराखेको छु। सातै प्रदेशका उपसभामुखसँग सम्पर्कमा छु । सातै प्रदेशमा पुगेर यस विषयमा छलफल गर्दैछु।लोकतन्त्र र गणतन्त्र महिलाले गर्दा आएको हो ।६० प्रतिशत महिलाले बन्दुक बोकेर गणतन्त्रका लागि सङ्घर्ष गरेका छन्। अहिले महिला भनेर कसैले अपमानित गर्न मिल्दैन ।

राजनीति गर्ने व्यक्तिको आचरण शुद्ध हुनुपर्छ। सुशासन भनेको सिंहदरबारबाट सुरु हुनुपर्छ। विभेद हुनुभएन। उपसभामुख भएको नाताले पनि मलाई विभेद भएको छ। 

फागुन १९ गते एक कार्यक्रममा फेरि महिला उपसभामुख भएकै कारण सुविधा नपाएको गुनासो गर्नुभयो। सम्मानित पदमा पुगिसकेपछि अब अधिकार नपाउँदा खोसेर लिने कि सार्वजनिक कार्यक्रममा गुनासो गर्ने ?

म अहिले अधिकार लिने र दिने ठाउँमा छु। दिनदिनै माननीयज्यूले गुनासो गर्नुहुन्छ। सभामुखले सरकारलाई आदेश दिन सक्नुहुन्छ भने मैले पनि कार्यपालिकालाई आदेश दिन सक्छु। आदेश दिनका लागि मैले समाज र राजनीति बुझ्नुपर्छ। म एकले अर्कोलाई लडाउने राजनीति गर्ने होइन। देश विकासका लागि राजनीति गर्ने हो। सुशासनका लागि राजनीति गर्ने हो। सम्माननीय सभामुखलाई सहयोग गर्नुपर्ने भयो भने म एक मिनेट पनि समय लिन्नँ। आधा मिनेट समय दिन्छु। किनभने समय व्यवस्थापन गर्न सकिएन भने केही पनि गर्न सकिँदैन। 

समाजसेवामा लामो अनुभव छ, राजनीतिमा नयाँ हुनुहुन्छ। समाजसेवा र राजनीतिमा के फरक छ ? 

म नेपालको राजनीतिमा नयाँ हो। सन् २००५ मा ‘सोसियल इन्टरप्येनर लिडर’ भनेर मैले असोका फेलो पाएकी हुँ। सन् २००७ मा ‘एसिया ट्वान्टी वान योङ लिडर’ भनेर चुनिएको मान्छे हुँ। यो पनि लिडर भएकै आधारमा पाएको हो। राजनीति गर्ने मात्रै लिडर होइन, यो समाजलाई चलाउने सबै लिडर हुन्। अहिले हामीले मतदान गरेर चुनेका मान्छेलाई मात्र लिडर भनेका छौँ। अहिलेका नेता खुट्टा तानातान र गालीगलौज गर्नुहुन्छ। म सभ्य तरिकाले राजनीति गर्न चाहन्छु। 

राजनीति र समाजसेवामा फरक चाहिँ के रहेछ ? 

काम गरेर देखाउनेलाई राम्रो नेतृत्व मान्न सकिन्छ। सत्ताको लोभमा दायाँ र बायाँ गरेर आम मान्छेलाई भ्रममा राख्नु चाहिँ राम्रो राजनीति होइन। राजनीति राम्रो हो किनभने यसले समाजलाई मार्गदर्शन दिन्छ। तर राजनीति राम्रो लिडरले चलाउनुपर्छ। लिडरमा राम्रो आचरण, सुशासन हुनुपर्छ। राजनीति गर्ने व्यक्तिको आचरण शुद्ध हुनुपर्छ। सुशासन भनेको सिंहदरबारबाट सुरु हुनुपर्छ। विभेद हुनुभएन। उपसभामुख भएको नाताले पनि मलाई विभेद भएको छ। मसँग एक, दुई, तीन, चार गरेर कयौँ कारण छन्। तर म यो अहिले भन्न चाहन्न। विभेद भयो भनेर केही भन्दा गलत अर्थ लगाइएको छ।

मैले उपसभामुखको रूपमा शपथ खाएकै दिन झण्डाको गाडी आयो। साथमा पाँच जना सुरक्षाकर्मी हुनुहुन्थ्यो। मैले उहाँहरूलाई कहाँ राख्ने ? म पैसामा लोभलालच गर्ने भएको भए ३३ वर्ष एनजिओ आईएनजिओमा काम गर्दा अवश्य घर बन्थ्यो । यत्तिका अवार्ड पाएको छु। बच्चासँगै बसेँ बच्चाको ओछ्यानमा सुतेकी छु। ममाथि केही भएमा सुरक्षाकर्मीको जागिर जान्छ रे ! मेरो लागि मात्र नभएर उहाँहरूका लागि पनि ठाउँ आवश्यक पर्छ। पुल्चोकमा मन्त्री निवास छ। त्यहाँ उपसभामुखलाई राख्ने अभ्यास रहेछ तर मलाई एक महिनासम्म पनि त्यो आवास दिइएको छैन। आवास भए काम गर्न सजिलो हुने थियो। मेरो कम्प्युटर अपरेटरसँग काम गर्नुपर्ने हुन्छ। मलाई विभिन्न ‘प्रपोजल’ प्राप्त भएका छन्। त्यसको अध्ययन गर्नुपर्छ। मेरो सचिवालयले काम गर्नुपर्छ तर त्यो ठाउँ नै छैन। 

यस्तो किन भयो  ? 

यो विभेद हो । जो आफ्नो मान्छे छ उसलाई मात्र दिने चलन रहेछ। आफ्नो मान्छेलाई नयाँ गाडी वा चिल्लो कार दिने। जो आफ्नो मान्छे होइन, यो महिला हो। यो इन्दिरा राना हो राजनीति नजानेकी भनेर जे गर्दा पनि हुन्छ यो त हिजो ट्याक्सीमा हिँडेको भनेर मलाई बिग्रिएको कार दिने ? त्यो पनि त भएन नि ! 

राज्यका अङ्गमा महिलाको प्रतिनिधित्व बढाउन तपाईंको भूमिका के हुन्छ ? 

राज्यका तमाम अङ्गमा महिलाको प्रतिनिधित्व हुनुपर्छ। महिलाको सङ्ख्या मात्र बढाएर हुँदैन। सक्षम व्यक्तिलाई उचित ठाउँ दिनुपर्छ। भूगोलको समावेशिता, जातीय समावेशिता, यौनिक लैङ्गिक आधारमा समावेशिता आवश्यक हुन्छ। अपाङ्गता भएका महिलाको समावेशिता हुनुपर्छ। यसरी प्रतिनिधित्व भएका महिलालाई जिम्मेवारीमा सशक्त बनाउन मेरो भूमिका रहन्छ। उहाँहरुलाई प्रतिनिधि मात्र होइन, प्रतिनिधित्व गर्ने बनाउनुपर्छ। महिलालाई नेतृत्व गर्ने मौका दिनुपर्छ। 

एक दिन मनाइने नारी दिवसको महत्त्व के हुन्छ ?

हाम्रो अधिकार हो । हामीले आफ्नो अधिकारलाई बाजा घन्काएर उपयोग गर्न सक्छौँ। पुरुषको कानमा महिला सक्षम छन् भनेर आवाज थर्काउन सक्छौँ। वर्षभरि नारी दिवस मनाउँदै हिँड्न मिल्दैन। महिलाहरू भेटघाट गर्ने वा जमघट गर्ने एउटा अवसर पनि हो। एक अर्कामा सम्पर्क गर्ने ठूलो अवसरका रूपमा यसलाई मनाउनुपर्छ। 

के गर्दा यो समाजमा नारी अर्थात् महिलाको सम्मान हुन्छ ? 

समाजमा सम्मान दिने भनेको शिक्षाले हो। बाल्यकालदेखि नै बालबालिकालाई समान शिक्षा दिनुपर्छ। छोरा र छोरीलाई समान शिक्षा दिए समानता हुन्छ। छोरा र छोरीलाई एउटै व्यवहार गर्न आमाबाट सुरु गर्नुपर्छ। समानता नभए बलजफ्ती गरेर अधिकार खोज्न महिलालाई सिकाउनुपर्छ। महिलालाई  नाइँ (नो) भन्न पनि सिकाउनुपर्छ। 

भिडियो : मनोजरत्न शाही