• १३ असोज २०८१, आइतबार

ताप्लेजुङको शिविरमा सहभागी डा.रुइतको टोली बिदा

blog

फक्ताङ्लुङ गाउँपालिकाद्वारा आयोजित वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको टोलीको बिदाइ कार्यक्रम।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २२ गते। आफ्नो जन्मस्थान ताप्लेजुङको दुर्गम फक्ताङ्लुङ गाउँपालिकामा आँखाका बिरामीको उपचार गर्न आउनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीलाई बिदा गरिएको छ। आइतबार शल्यक्रियासहितको आँखा शिविर सम्पन्न भएपछि फक्ताङ्लुङ गाउँपालिकाले डा. रुइतको टोलीलाई बिदाइ गरेको हो। 

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले निःशुल्क आँखा शिविर सञ्चालन गर्न आफ्नो जन्मस्थान आउनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रुइतको टोलीलाई सोमबार बिदाइ गरेको जानकारी दिनुभयो। 

जिल्लाको निक्कै दुर्गम तथा विकट क्षेत्र आएर शिविरमार्फत आँखाका रोगीको उपचार गरेकोमा डा. रुइतसहित टोलीको फक्ताङ्लुङ गाउँपालिकाले उच्च प्रसंशासमेत गरेको छ। 

डा. रुइत, अर्का नेत्र विशेषज्ञ डा. होम गुरुङलगायत शिविर सञ्चालन गर्न आएको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकसहितका जनशक्तिलाई गाउँपालिका अध्यक्ष लिम्बूले कदरपत्रसमेत प्रदान गरेर सम्मान गर्नुभएको छ। 

गाउँपालिकालाई निःशुल्क शिविर सञ्चालन गर्ने अवसर प्रदान गरेर आफ्नो पालिकाका सर्वसाधारण आँखाका रोगीको पुनः दृष्टि फर्काइदिएकोमा उक्त कार्यको कदर गर्दै सम्मानसहित विदाइ गरेको अध्यक्ष लिम्बूले बताउनुभयो। 

तिलगङ्गा आँखा प्रतिष्ठान र तेज पोली रुइत फाउण्डेसनको प्राविधिक सहयोगमा फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा शनिबार र आइतबार दुई दिन आँखा शिविर सञ्चालन गरिएको थियो। डा. रुइतको प्रत्यक्ष संलग्नतामा सञ्चालित सो शिविरमार्फत ७० जना मोतियाविन्दु भएका रोगीको आँखा शल्यक्रिया साथै उपचार गरिएको थियो। 

दुर्गम हिमाली बस्ती घुन्सा, फले, ग्याब्ला, ओलाङ्चुङगोला लगायतका गाउँगाउँमा पुगेर गत सोमबारदेखि नै आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। उक्त परीक्षण शिविरहरुमार्फत करिव दुई हजार ५०० जनाले आँखा जाँच साथै औषधि उपचार गराएका थिए। मोतियाविन्दु पहिचान भएकालाई भने एकैठाउँ तापेथोकमा केन्द्रित गरी शल्यक्रियासहित आँखाका विरामीको उपचार गरिएको हो।

शिविर सञ्चालन केन्द्र तापेथोकसम्म विरामीको आउजाउमा लाग्ने खर्च, खाना, आवासहित सबै खर्च व्यवस्थापन गाउँपालिकाले गरेको छ। यता मोतियाविन्दु भएका आँखा जटिल प्रकृतिका विरामीसमेतले गाउँघरमै उपचार सेवा पाउँदा स्थानीय सर्वसाधारणले ठूलो राहतको महशुस गरेका छन्।