• १३ असोज २०८१, आइतबार

भिडियो एक्सरेमार्फत गर्भजाँच सेवा सुरु

blog

मैवाखोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीमा गर्भजाँच गराउँदै गर्भवती महिला । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्सरेमार्फत गर्भवती महिलाको गर्भ जाँच सेवा सुरु गरेको छ । गर्भवती महिलाको स्वास्थ्य र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी राख्ने उद्देश्यसहित गर्भ जाँच सेवा सुरु गरिएको हो ।

मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गर्भवती महिलाको निःशुल्क गर्भजाँच सेवा सुरु गरिएको हो । भिडियो एक्सरेमार्फत महिनामा एक पटक गर्भवतीको गर्भ जाँच गर्नेगरी सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । 

गर्भ जाँच सेवालाई नियमित गर्नेगरी तालिका नै बनाएर सेवा प्रवाह गरिँदैआएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले जानकारी दिनुभयो । प्रमुख शेर्पाका अनुसार प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवती महिलाको गर्भ जाँच गर्नेगरी तालिका बनाइएको छ । महिनाको ८ गते मैवाखोला गाउँपालिका –३ र ४ का गर्भवती महिलाले सेवा पाउनेगरी साँघु स्वास्थ्य चौकीमा गर्भ जाँच सेवा प्रवाह गरिन्छ । 

त्यस्तै, १६ गते वडा १ र २ का गर्भवती महिलाका लागि ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्र र २४ गते वडा ५ र ६ का महिलाका लागि फाकुम्बा स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुँदैआएको शाखा प्रमुख शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाको योजनाअनुसार भिडियो एक्सरेको प्रयोगबाट निःशुल्क गर्भ जाँच सेवा प्रवाह हुन थालेपछि गर्भवती महिला खुसी भएका छन् । 

केही समय अघिसम्म भिडियो एक्सरे सेवा प्राप्त गर्नलाई सदरमुकाम फुङ्लिङलगायतका ठाउँमा जानुपर्ने अवस्था रहेकोमा अहिले गाउँमै सो सेवा पाएपछि गर्भवती महिला, अन्य बिरामी र मैवाखोला गाउँपालिकाका बासिन्दाले राहतको महशुस गरेका छन् । गाउँघरमै बसेर भिडियो एक्सरे सेवा र एक्सरेमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिन पाउँदा सेवाग्राही खुशी भएका छन् ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार गाउँमै भिडियो एक्सरेबाट गर्भ जाँच गर्न पाएका महिला खुशी भएका छन् । गाउँपालिकाले सुरु गरेको गर्भ जाँच सेवाको प्रभावकारितासँगै हाल गर्भवती महिला आफ्ना गर्भजाँच गराउन नियमित स्वास्थ्य संस्था धाउन थालेको तामाङले बताउनुभयो ।