होली हिन्दुको प्राचीन पर्व हो । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई व्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ छ । हिन्दु धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ ।
यतिबेला सुदूरपश्चिममा होलीको उत्सव छ । सुदूरपश्चिममा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रम र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । भारतको कुमाउ, गडवाल तथा उत्तराखण्डबाट भित्रिएको पर्वका रूपमा होलीलाई लिइने गरिन्छ । दार्चुला, बैतडी तथा पहाडी जिल्लामा यसलाई देउडा खेल खेलेजस्तै घरघरमा गई खेल्ने गरिन्छ । यसैगरी कुनै सार्वजनिक स्थलका रूपमा भेला भई नृत्य प्रस्तुत गर्दै होलीका गीत गाउने पनि गरिन्छ ।
दार्चुला जिल्लाको लेकम क्षेत्रको होलीमा भने अझ फरक पहिचान बोकेको पाइन्छ । फागुपूर्णिमा (छरेली पून्यू)को तीन÷चार दिन पहिलेदेखि समुदायका बूढापाका र युवा जम्मा भई होलीको तयारी गरिन्छ । सामूहिक रूपमा भेला भई सबैको पायक पर्ने अथवा इष्टकुलदेवताको मन्दिर प्राङ्गणमा गई होलीको सुरुवात गर्ने चलन छ । मन्दिरमा सुरुवात गरेपछि होली विधिवत् रूपमा सुरु भएको मानिन्छ । होलीका गीत नेपाली, कुमाउनी, गडवाली तथा हिन्दी भाषामा प्रख्यात छन् । सीमावर्ती क्षेत्र तथा भारतबाट भित्रिएको पर्व भएका कारण पनि होलीमा अभिकांश भारतका शब्द समावेश गरिएका छन् । रामायण कथामा आधारित होलीलाई लय मिलाएर सामूहिक रूपमा खेल्ने गरिन्छ । मन्दिरमा सुरुवात गर्दा होलीलाई यसरी सुरुवात गरिन्छ ः
देवीका थान पतरिया नाचै ।
तातैया तातैया होय अम्भे धन तेरो है ।।
खोलोके वार चलु मठ भितर ।
दर्शन दे महामाय अम्भे धन तेरो है ।
धुप कपुरकी बत्ती जली है ।
जगमग जगमग होय अम्भे धन तेरो है ।
कञ्चन थालमा फूल चढावै ।
प्रशन्न हो महामाय अम्भे धन तेरो है ।
लाल ध्वजा मठ उप्पर सोहै ।
फरहर फरहर होय अम्भे धन तेरो है ।
सुनके छत्र भवन विराजै ।
घन्टा देहो बजाय अम्भे धन तेरो है ।
हरीया पीपल द्वारे सोहै ।
बर सोहै पिछकारे अम्भे धन तेरो है ।
मन्दिरमा होलीको सुरुवात गरिसकेपछि गाउँका सबै घरघरमा गई होली खेल्ने निर्णय गरिन्छ । देउडा खेलेजस्तो गोलो घेरमा लाइनबद्ध भई मादल, मिजराको तालमा होलीको गायन गरिन्छ । प्रत्येक घरमा गई करिब १५ देखि २० मिनेटसम्म होलीको गीतमा लयबद्ध रूपमा दुई समूह बनाई गाउने गरिन्छ । एक समूहले भनेको कुरालाई अर्काे समूहले दोहो¥याउने गरिन्छ । साथमा मादल र मिजराको धुनसमेत हुने गर्छ । सेतो कपडामा सजिएका होलीका सदस्य विभिन्न थरिका रङले सजिएका हुन्छन् । होलीलाई आशिष दिने पर्वका रूपमा पनि लिइन्छ । एउटा घरमा होली सकिने बेला विभिन्न आशिषका शब्दले होलीलाई अझ उल्लासमय बनाउने गरिन्छ ।
घरमा शान्ति होस्, रोजगारी मिलोस्, धनसम्पत्ति जोडियोस्, प्रदेशमा रहेकालाई सहज होस्, बच्चालाई रोग नलागोस् भन्ने आशिषसमेत दिने गरिन्छ । यसरी होली खेलिसकेपछि नृत्य टोलीले नेपाली गीतको तालमा नाच्नेसमेत गर्दछन् । होली हेर्न छिमेकी जम्मा हुन्छन् भने होली खेलप्रेमी लाइनबद्ध भएर देउडा भाकामा खेल्ने गर्दछन् । होली सम्पन्न गरेपछि घरका अभिभावकले चामल, पैसा, सख्खर उपहार दिने गर्दछन् । होली विशेषगरी रामायण कथामा आधारित हुने गर्छ । राम वनवास हुने बेला सीतासमेत रामसँग हिँडेकी कथालाई समेत होलीका रूपमा चित्रण गरेको पाइन्छ । सुविधासम्पन्न दरबार छोडी रामसँग वनवास गएको सीताको कथालाई होलीमा वर्णन गरेको पाइन्छ ।
होली घरमा खेलिने छुट्टै हुन्छ भने बाटोमा खेलिने होली फरक हुने गर्छ । लामो भाकामा रहेको होलीलाई बाटोमा गाउने गरिन्छ । एक घरदेखि अर्काे घरसम्म जाने पहाडी क्षेत्रमा कम्तीमा पनि १० देखि १५ मिनेटसम्म लाग्ने गर्दछ । यसरी उक्त समयमा सरासर नगई होली गाएर जाने प्रचलन रहिआएको छ । सो समयमा बाटोमा गाइने होली गाइन्छ । बाटोमा गाइने होलीले अझ रौनकता थपेको हुन्छ । भौगोलिक विकटता रहेको क्षेत्रमा हुने साँघुरो बाटोमा सेताम्मे कपडामा रङहरूले सजिएका होली खेलप्रेमी लाइनबद्ध भएर बिस्तारै गाउँदै, नाच्दै हिँडेका अनि त्यसमा मादल अनि मिजराको धुनले फरक तरङ्ग पैदा गर्ने गर्दछ । विशेषगरी होली फागुन अथवा चैत्र महिनामा पर्ने गर्दछ । कामको चटारोसमेत नहुने भएकाले होली हेर्ने दर्शकले झनै मज्जा लिने गर्दछन् । एउटै लयलाई दुईचोटि उच्चारण गरी होलीलाई लामो स्वरमा गाइने गर्दछ । भगवान् राम, सीताको बिहेको वर्णन गरिएको होलीसमेत सुदूरपश्चिममा चर्चित होलीका रूपमा लिइन्छ ।
जनकपुरमा सीताको स्वयम्बरमा घनुष राखिएको र उक्त धनुष तोड्नेलाई राजा जनकले स्वयम्बर गरिदिने कथालाई होलीमा चित्रण गरिएको छ । जनकले सीतालाई खेत जोत्ने बेला पाएको र घरमा पालन पोषण गरी अभिभाकत्व ग्रहण गरेको इतिहासमा उल्लेख गरिएको छ । पछि स्वयम्बरमा राजा जनकले बलियो, शक्तिशाली, विद्वान् व्यक्तिको खोजी गर्न धनुष राखेको र उक्त धनुष उचालेर तोड्नेलाई सीतासँग स्वयम्बर गरिदिने भनिएको थियो । उक्त सभामा विश्वामित्र ऋषिलाई निमन्त्रणा गरिएको थियो । विश्वामित्रले साथमा भगवान् रामलाई पनि लगेको भन्ने भनाइ रहिआएको छ । उक्त सभामा सबैले हारेपछि रामले अन्तिममा उक्त धनुष उचाली तोडेको भन्ने किंवदन्ती छ । पछि भगवान् राम र सीताको विवाह गरिदिएको भन्ने भनाइ रहिआएको छ र सोही किंवदन्तीअनुसार होली तयार पारिएको छ ।
पूर्वी नेपालमा रङ दलेर होली मनाइने भए पनि सुदूरपश्चिमका पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण र रामलगायत भगवान्का गाथा गाउँदै एकअर्कामा रङ दलेर होली खेलिन्छ । सुदूरपश्चिमको तराईमा बसोवास गर्दै आएका आदिवासी राना थारू पहाडी होलीजस्तै गोलबद्ध भएर विभिन्न भगवान्का गाथा गाउँदै खेल्ने गरिन्छ । कञ्चनपुरमा दार्चुला, बैतडी समुदायको एक किसिमको होली छ भने डडेल्धुराको रूपाली होली छुट्टै छ । त्यसैगरी अछामी समुदायको होली पनि भिन्न तरिकाले मनाइने गरेको छ । राना थारू समुदायको होली पर्व पनि भिन्नै छ । होलीमा गाइने भगवान्को महिमा एउटै भए पनि खेल्ने तरिका फरक फरक छ ।
होली मनाउने दिन र तरिका ठाउँअनुसार फरक फरक हुनेछ । होलीमा विशेषगरी ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाका साथ विभिन्न किसिमका लोक गाथा अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन् । पछिल्लो समय भगवान् कृष्ण तथा भगवान् रामबाहेक देवीदेवताको गाथामा समेत आधारित होली प्रचलनमा रहेको पाइन्छ । राष्ट्रको सातौँ धामका रूपमा परिचित दार्चुला जिल्लामा रहेको मालिकार्जुन धामको महिमालाई समेत होलीमा परिणत गरी गाइने गरिन्छ । अन्तिम दिन सामूहिक रूपमा भोज गरी होली विसर्जन गरिन्छ । होलीबाट सङ्कलन भएको नगद पैसाको केही भाग खर्च गरेर अन्य बाँकी पैसा सामाजिक कार्यमा लगाउने पनि गरिन्छ भने समाज सुधार समूह बनाएर कोषको रूपमा समेत जम्मा गरिन्छ । सामाजिक सद्भाव, वेशभूषाको संरक्षण गर्ने उद्देश्यले खेलिने होलीलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गरी घर फर्किने गर्छन् ।
लेखक सुदूरपश्चिममा पत्रकारिता पेसामा आबद्ध हुनुहुन्छ ।