• ९ पुस २०८१, मङ्गलबार

साबुन उद्योग सञ्चालन

blog

दैलेख समाचारदाता

दैलेख, फागुन २२ गते । यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो । 

उद्योग स्थापना गर्न थालेपछि महावु गाउँपालिकाले दुई लाख रुपियाँ अनुदान दिएको छ । यो उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् भने बजारीकरणका अवस्था हेरी उद्योगलाई अझै विस्तार गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । 

कच्चा पदार्थ भारतको कानपुरबाट ल्याउने गरिएको जानकारी दिँदै उहाँले पहिलो चरणमा कपडा धुने साबुन उत्पादन गरेको र छिट्टै कपडा धुने पाउडर, भाडा धुने साबुन उत्पादन गर्ने योजना रहेको बताउनुभयो ।