• १३ साउन २०८१, आइतबार

महासङ्घको साधारण सभा चैत २८–२९ गते

निर्वाचन केन्द्रित गतिविधि तीव्र

blog

काठमाडौँ, फागुन २२ गते । आगामी चैत २८ र २९ गते हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र निर्वाचनका लागि पदाधिकारीको उम्मेदवारी दिने तयारी गरेका उद्यमी व्यवसायी अहिले देश दौडाहामा छन् ।

हालसम्म दुई प्रदेशको नेतृत्व चयन भइसकेको छ भने पाँचवटा प्रदेशमा प्रदेशस्तरीय नेतृत्वको निर्वाचन हुन बाँकी छ । प्रदेश निर्वाचनबाटै आफ्नो पकड स्थापित गर्ने गरी केन्द्रीय पदाधिकारीका आकाङ्क्षीको सक्रियता देखिएको हो । 

महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनुहुनेछ । विधानबमोजिम वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासङ्घको आगामी कार्यसमितिको अध्यक्ष हुनुहुनेछ । त्यसैले यो निर्वाचन महासङ्घको वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षमा आउने नेतृत्व चयनका हिसाबले बढी महŒव राख्छ । 

यस पटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने गरी व्यवसायी उमेशलाल श्रेष्ठ, रामचन्द्र साङ्घाई र अन्जन श्रेष्ठले निर्वाचन केन्द्रित गतिवधिलाई तीव्रता दिएका छन् । उमेशलाल श्रेष्ठ यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित हुनुभएको थियो । रामचन्द्र सङ्घाई एसोसिएट समूहबाट र अञ्जन श्रेष्ठ वस्तुगततर्पmबाट वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ ।

समग्र उद्योगी व्यवसायीको हकहितको रक्षा र उद्यम व्यवसायको वातावरण निर्माणका लागि आफूले उम्मेदवारी दिने तयारीमा रहेको उमेशलाल श्रेष्ठले बताउनुभयो । अर्का आकाङ्क्षी अञ्जन श्रेष्ठले विद्यमान आर्थिक सङ्कट उद्यमी व्यवसायीका लागि अनुकूल वातावरण निर्माणलगायतका एजेन्डा बोकेर उम्मेदवारी दिने गरी देशका विभिन्न जिल्लाका उद्यामी व्यवसायीसँगको भेटघाट र छलफललाई तीव्रता दिँदै आउनुभएको छ । सङ्घाई पनि यस्तै एजेन्डा लिएर वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने तयारीमा रहनुभएको छ । 

विगतमा महासङ्घको निर्वाचनमा विभिन्न समूह बनाएर निर्वाचनमा जाने अभ्यास पनि रहँदै आएको छ । महासङ्घले सबै प्रदेशस्तरमा निर्वाचन सम्पन्न गरिनसकेकाले पनि अहिलेसम्म त्यस्तो समूह भने बनिसकेको छैन । 

दुई प्रदेश अध्यक्ष निर्विरोध

प्रदेश अध्यक्षमा बागमती प्रदेशमा व्यवसायी दिलसुन्दर श्रेष्ठ र मधेश प्रदेशमा अशोक टेमानी निर्विरोध निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशमा चैत ११ गते निर्वाचन गर्ने तयारी छ भने बाँकी चार प्रदेशमा २५ गते निर्वाचन हुँदै छ ।  

महासङ्घको एसोसिएट उपाध्यक्ष पदका लागि व्यवसायी भरत आचार्य र ज्योत्स्ना श्रेष्ठ, वस्तुगततर्पmको उपाध्यक्षका लागि व्यवसायी हेमराज ढकाल र मनीषलाल प्रधानले उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ भने जिल्ला उपाध्यक्षमा वर्तमान कार्यसमितिकै उपाध्यक्ष दिनेश श्रेष्ठ र अरुणा सुमार्गीले चासो देखाइरहनुभएको छ ।

महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीका अनुसार यस पटकको साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउने गरी सचिवालयले आफ्ना गतिविधिलाई केन्द्रित गरिरहेको छ । महासङ्घले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलको संयोजकत्वमा निर्वाचन कमिटी पनि नियुक्त गरिसकेको छ । 

महासङ्घले उम्मेदवारी मनोनयनका लागि वरिष्ठ उपाध्यक्षका लागि पाँच लाख रुपियाँ, उपाध्यक्षका लागि तीन लाख रुपियाँ, कोषाध्यक्षका लागि दुई लाख र केन्द्रीय सदस्यका लागि ७५ हजार रुपियाँ मनोनयन शुल्क निर्धारण गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष र दुई पूर्वअध्यक्षसहितको आठ जनाको पदाधिकारी समूह रहन्छ । त्यस्तै ११८ जिल्ला नगर उद्योग सङ्घको प्रतिनिधित्व गर्दै १८ जना केन्द्रीय सदस्यले कार्यसमिति सदस्य पाउँछन् भने एसोसिएटतर्पm १९ केन्द्रीय सदस्य र वस्तुगततर्पm १२ केन्द्रीय सदस्य रहन्छन् । दुईदेशीय सङ्घबाट एक जना र मनोनीत पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यस्तै प्रत्येक प्रदेशस्तरबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय सदस्य रहने प्रावधान रहेको छ ।