• ९ पुस २०८१, मङ्गलबार

महासङ्घ कर्णाली प्रदेश कार्यसमितिको साधारण सभा कालिकोटमा

blog

नियमित उडानको प्रर्खाइमा रहेको कालीकोटको सुनथराली विमानस्थल। तस्बिर: रमेशकुमार वोगटी

रमेश कुमार वोगटी

मान्म,  फागुन २१ गते । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ। 

महासङ्घको प्रदेश कार्यसमितिको आयोजना तथा कालिकोट शाखाको समन्वयमा चैत्र १८ र १९ गते साधारण सभा कालिकोटको नरहरिनाथ गाउँपालिकामा रहेको सुनथराली विमानस्थलमा हुने भएको हो। साधारण सभाका लागि विभिन्न समिति र उपसमिति निर्माण गरेर महासङ्घले तयारी गरेको छ। 

साधारण सभाको उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, सङ्घीय सरकारका सञ्चार मन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि र प्रदेश सभा सदस्य, कालिकोटस्थित स्थानीय तहका प्रमुख र विभिन्न सङ्घ सङ्गठनका प्रमुखको सहभागिता रहने महासङ्घले जनाइएको छ। 

कालिकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्द्धनका लागि इतिहासमै पहिलो पटक महासङ्घको साधारण सभा कालिकोटमा हुने भएको हो। 

महासङ्घको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालिकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यबद्धता जनाएका छन्। साधारण सभाबाटै महासङ्घको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासङ्घका महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो। 

साधारण सभामा महासङ्घका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरेर तीन सय भन्दा बढी सदस्यको सहभागिता हुनेछ। साधारणसभाका लागि आर्थिक दायित्व प्रदेश समितिले लिएको छ। 

सुनथराली विमानस्थलको निर्माण कार्य भर्खरै सम्पन्न भएको छ। विमानस्थलमा नियमित उडानका लागि जोडदार आवाज उठाउने भन्दै महासङ्घको साधारणसभा सुनथराली विमानस्थलमा आयोजना गर्न लागेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो।