• १३ साउन २०८१, आइतबार

गण्डकीको आर्थिक उत्थानका लागि औद्योगिक व्यापार मेला

blog

गैँडाकोटमा आजदेखि सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला । तस्बिर : मीना कंडेल

मीना कँडेल
कावासोती, फागुन २१ गते ।
 गैँडाकोटमा आज (आइतबार) देखि प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ  । नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने सामर्थ्य रहेका कारण व्यवसाय प्रवर्द्धनका लागि नवलपुर छनोट गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवकुमार कोइरालाले बताउनुभयो । 

‘आर्थिक विकासको मूल आधार : कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव समग्र गण्डकीको आर्थिक उत्थानका लागि निजी क्षेत्रले आटेको बृहत् र महत्त्वाकाङ्क्षी महाअभियान रहेको महोत्सवका संयोजक कोइरालाले बताउनुभयो ।

मेलाको माध्यमबाट गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा घोषणा गरेको लोकाहा खोला औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका तथा पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवम् धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास आयोजकको रहेको छ । गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुराउने उद्देश्य राखेको छ । 

मेलाको आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । मेलामा अनुमानित आम्दानी एक करोड ६० लाख र अनुमानित खर्च एक करोड २५ लाख  रुपियाँ कटाउँदा ३५ लाख बचत हुने आयोजकको अनुमान छ । मेलामा करिब तीन सय वटा स्टलहरू रहेका छन् ।