मानव बेचबिखनको विषय झनै जटिल र व्यापक बन्दै छ । यो विषय महिला, बालिका, अशिक्षित र दलित–जनजातिको मात्र सीमित सवाल नभएर विश्वव्यापी जालोले बेचबिखनलाई छपक्कै छोपेको छ । बलियो कानुन छ तर पनि कानुन कार्यान्वयनमा अझै कैयौँ असहजता छन् । प्रभावितको पुनर्मिलन सहज छैन, प्रभावित पुरुष पनि बेवास्ता गरिएका छन् । उनीहरूका लागि सरकारले एउटा पुनस्र्थापना केन्द्र्रसमेत स्थापना गर्न सकेको छैन । वर्षौंदेखिको मानव बेचबिखनविरुद्धमा गरिएको लगानीले सोचेजस्तो प्रतिफल पाउन सकेकै छैन ।
मानव बेचबिखनको जालो भारतको यौनशाला (कोठी) मात्र नभएर विश्व बजारसम्म फैलिसकेको छ । महिला, पुरुष, बालबालिका, धनी, गरिब सबै यसको जालोमा परिरहेका छन् । यौनका लागि, श्रमका लागि, अङ्ग प्रत्यारोपणका बहाना, सेरोगेसीका लागि, पढ्न भन्दै भिजिट भिसामा विभिन्न बहानाले विशेषतः उच्च महìवाकाङ्क्षा राख्ने युवा जमातलाई बेचबिखनका दलालले आफ्नो प्राथमिकतामा राखेर सम्पर्क बढाइरहेका छन् ।
चीन तथा कोरियामा बिहेको बहानामा होस् या नेपालभित्रै या दक्षिण अफ्रिकासम्म मनोरञ्जनका क्षेत्र भनिने डान्स बार, मसाज पार्लर, क्याबिन रेस्टुराँ आदिमा यौन शोषणका लागि नै किन नहोस् मानव बेचबिखन फैलिएको देखिन्छ । अझ मनोरञ्जनका क्षेत्रभित्र चलचित्र, म्युजिक भिडियो, रियालिटी सो, ब्युटी प्याजेन्टका नाममा महिला, बालबालिका तथा किशोर–किशोरीमाथि हुने शोषण, दुव्र्यवहार र मानव बेचबिखनको अवस्था अनुसन्धानकै विषय हुन आउँछ । केही समयअघि मात्र सुन्दरी प्रतियोगिताकै नाममा प्रतियोगी किशोरीमाथि कतिसम्मको यौन दुव्र्यवहार भएको र पीडित वर्षौंसम्म मानसिक विक्षिप्त अवस्थामा रहनु परेको छ ।
मानव बेचबिखन तथा ओसारपसारका अधिकांश समस्या बाहिर आउँदैनन् । बाहिर आएकामध्ये पनि सबै औपचारिक कानुनी उपचारको प्रक्रियामा प्रवेश गरेको अवस्था देखिँदैन । जसमा कोभिड महामारीका समयमा व्यक्तिहरूका रोजगारी गुमेका कारणले मानव बेचबिखनको जोखिम अवस्थामा रहेको पाइन्छ । आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा नेपाल प्रहरीमा जम्मा २७० वटा मानव बेचबिखनको मुद्दा दर्ता भएको पाइन्छ । क्रमशः सर्वोच्च अदालतमा मानव बेचबिखनमा ४०२, उच्च अदालतमा मानव बेचबिखनसम्बन्धी ६१७, जिल्ला अदालतमा मानव बेचबिखनसम्बन्धी ७६० वटा गरी जम्मा एक हजार ७७९ वटा मुद्दाको बहस पैरवी भएको पाइन्छ ।
आर्थिक वर्ष २०७६÷७७ को अवस्था हेर्दा नेपालभरका सबै प्रहरी एकाइमा मानव बेचबिखनसम्बन्धी जम्मा १३६ वटा जाहेरी दर्ता भएको देखिन्छ । जसमा १९१ महिला र १४ जना पुरुष गरी २०५ जना व्यक्ति मानव बेचबिखनबाट पीडित रहेको पाइएको छ । नेपाल प्रहरीमा दर्ता भएको मानव बेचबिखनसम्बन्धी जाहेरीको प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३० वटा मानव बेचबिखनसम्बन्धी जाहेरी दर्ता भएको देखिन्छ; जसमा ४५ जना व्यक्ति मानव बेचबिखनबाट पीडित रहेको देखिन्छ ।
मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोबाट प्राप्त आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को अवस्था हेर्दा २५७ जना व्यक्ति आन्तरिक मानव बेचबिखन तथा ओसारपसारबाट पीडित तथा प्रभावित भएको देखिन्छ । जसमा महिला ६१.४ प्रतिशत, पुरुष २.३ प्रतिशत, बालिका ३६.१ प्रतिशत र बालक ० प्रतिशत रहेका छन् ।
बेचबिखनको स्वरूप फेरिएको हो त ?
यसको जवाफ मिश्रित रूपमाआउँछ । मानव बेचबिखनमा काम गर्दै आइरहेकी अभियन्ता चरिमाया तामाङ भन्छिन्, “मानव बेचबिखन पहिलेजस्तो गरी भारतका कोठीमा बिक्री नै नहुने भने हैन तर बेचबिखनविरुद्ध कार्य गर्ने संयन्त्रको सक्रियताका कारण यो परम्परागत बाटो सहज भने छैन । विभिन्न नयाँ बाटाजस्तै वैदेशिक रोजगारी या अन्य बहानामा बेचबिखन बढिरहेको छ । हामीभन्दा एक कदम अगाडि बेचबिखनका दलाल छन् ।” राज्य संयन्त्रकै आडमा कतिपयले बेचबिखनलाई बढाइरहेको आरोप तामाङको छ । उनी भन्छिन्, “म्यारिज ब्युरो, ट्राभल एजेन्सी तथा म्यानपावर, मन्दिर, मस्जिद, चर्च, गुम्बाका आडमा समेत बेचबिखन भएका उदाहरण हामीले विपत्को समयमा भोगिसकेका छौँ ।”
मानव बेचबिखन गाउँको अशिक्षित अनपढ छोरी या महिलामाथि मात्र हुन्छ भन्नु या अपरिचित अन्जान व्यक्तिले मात्र बेचबिखनमा पार्छ भन्नु अपूरो र व्यर्थ हुन्छ । यसको जालोबाट कोही पनि बचेका छैनन् । सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुरजस्ता जिल्लाका एक–दुई जनजातिमाथि हुने कुनै संस्कृति होइन, मानव बेचबिखन, अहिले त मानव तस्करहरूले तस्करीको बाटो हुँदै बेचबिखन गरिरहेका छन् । पीडितले आफू पीडित भएको थाहैसमेत पाउँदैनन् । आफैँ आफ्नो बेचबिखनका लागि लगानी गर्छ र आफ्नो न्यूनतम मानव अधिकार गुमाउन पुग्छ ।
नेपाल स्रोत पारवहन र गन्तव्यका रूपमा विकसित भइरहेको सन्दर्भमा भारतको मानव बेचबिखन हुने प्रवृत्ति पनि फरक हुँदै गइरहेको छ । जसले गर्दा मानव बेचबिखनविरुद्ध क्रियाशील अभियन्तालाई पीडित व्यक्तिलाई पत्ता लगाउन, त्यहाँसम्म पुग्न पहिलेभन्दा असहज हुने गरेको देखिएको छ । आजभोलि दिल्लीको जीबी रोड मात्र हैन, भारतको दिल्लीलगायतका मुम्बई, कोलकाता, पुनेजस्ता सहरका यौनशालामा हुने बेचबिखनको स्वरूप परिवर्तन भएका छन् । मानव बेचबिखनविरुद्ध विगत एक दशकदेखि क्रियाशील केआईएन इन्डियाका अध्यक्ष नवीन जोशी भन्छन्, “अवस्था परिवर्तन भइरहेको छ, अहिले १८ वर्षभन्दा कम उमेरका बालिका दिल्लीको जीबी रोडमा मात्र हैन, अन्य सहरका कोठीमा पनि प्रायः भेटिँदैनन् ।
जो १८ को आसपासका देखिन्छन्, उनीहरू पनि तालिमप्राप्त जवाफ दिन्छन् । प्रहरीले केही पनि गर्न सक्दैनन् ।” नेपालबाट हराइरहेका बालिका किशोरी कहाँ लगिन्छ त ? यो प्रश्नमा उनी भन्छन्, “नेपालको आन्तरिकपछिको झन्डै सम्पूर्ण गन्तव्य भारत नै हुन्छ र खुला सिमानाको कारणले पनि फकाएर, झुक्याएर या विभिन्न प्रपञ्च रचेर ल्याइएका बालिका किशोरीलाई आजकल सिधै कोठीमा बेच्ने रिस्क दलालले लिँदैनन् । राम्रो कमाइको अपेक्षा गरेर कोठीभन्दा हाइक्लासको फ्ल्याट, अपार्टमेन्ट लिन्छन् र सम्पर्कअनुसारको सप्लाई गराउँछन् ।”
उनका अनुसार बेचबिखनको प्रवृत्ति भारतमा मात्र हैन, नेपालमा पनि फेरिएको छ । अहिले मध्य पहाडी जिल्लाका भन्दा पनि पश्चिम अझ भन्दा सुदूरपश्चिम विशेषगरी नेपालगञ्ज, दाङ, पोखरा, सुर्खेत आसपासका मध्यम–निम्नवर्गीय किशोरीको जोखिमको अवस्थामा बढी उद्धार हुने गरेको छ, विशेषतः बादी समुदायका महिला तथा किशोरीको गन्तव्य दिल्लीको जीबी रोडमा ह्वात्तै बढेको छ । नवीन भन्छन्, “नेपालका संस्था यहाँको परिवर्तित प्रवृत्तिबारे अपडेट छैनन्, साडीको जरी भर्न मात्र हैन, हिँजडा बनाएर माग्नका लागिसमेत बेचबिखन भइरहेको छ, बहाना फरक फरक देखिन्छ ।”
नेपालले मानव बेचबिखनलाई गम्भीर अपराधका रूपमा स्वीकार गर्नुका साथै अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको मानव विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने प्रलेख, २०००, (पालेर्मो प्रलेख)लाई अनुमोदन गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ । मानव बेचबिखनमा संलग्न आपराधिक व्यक्ति, समूह तथा संस्थाले यस्तो वातावरण सिर्जना गर्छन्; जसका माध्यमबाट व्यक्तिलाई वेश्यावृत्ति, बाध्यकारी श्रम, आधुनिक दासता, अङ्ग झिक्ने, युद्धमा संलग्न हुनुपर्ने बाध्यात्मक अवस्थामा पु¥याउँछन् । मानव बेचबिखनको अन्तिम लक्ष्य नै आश्वासन, डर, धम्की, लालच, स्नेह आदिका माध्यमबाट व्यक्तिको शोषण गर्ने कार्य हो ।
नेपालमा विद्यमान गरिबी, बेरोजगारी, अशिक्षा र पछौटेपनका कारण ठूलो समुदाय बेचबिखनको जोखिममा रहेको छ । जोखिम समूहको बाध्यतालाई उपयोग गर्दै आपराधिक गिरोहले मानव बेचबिखन तथा तस्करी गर्दै आएका छन् । नेपाल केही वर्षअघिसम्म स्रोत वा उत्पत्ति मुलुकका रूपमा रहेको भए पनि पछिल्ला वर्षमा गन्तव्य मुलुक र माध्यम (मार्ग) मुलुकको रूपमा समेत विकास हुँदै गएको देखिन्छ । अहिले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ को महामारीका कारण जोखिम समूहको रोजगारी तथा आम्दानी गुम्नुका साथै उनीहरूको स्वास्थ्यसमेत प्रतिकूल हुन पुग्दा जीविकोपार्जनका लागि जोखिम उठाउन भए पनि रोजगारीका लागि भारत तथा अन्य वैदेशिक मलुकमा जाने र आन्तरिक रूपमा विभिन्न होटल, रेस्टुराँ तथा मनोरञ्जन क्षेत्रमा असुरक्षित रूपमा श्रम गर्न बाध्य हुन सक्ने सम्भावना छ ।
कोभिड महामारीपछि थलिएको अर्थतन्त्र अझै जुर्मुराउन सकेको अवस्था छैन, राजनीतिबाट जनतामा निराशा छ । स्थानीय सरकारले जनताको आर्थिक उपार्जनमा ठोस कदम चाल्न सकेको अवस्था छैन । सहर पस्ने, भारत भासिने, वैदेशिक रोजगारीको अपेक्षा गर्ने, अध्ययनको बहानामा विकसित मुलुक पलायन हुने प्रक्रिया बढ्दो छ । फेसन, सञ्चार र प्रविधिको सचेतनाविहीन पहुँचले अनलाइन खतरासमेत बढाइरहेको छ ।
लेखक मानव बेचबिखनविरुद्ध क्रियाशील हुनुहुन्छ ।