• १३ साउन २०८१, आइतबार

जीवनीमूलक श्रेष्ठ कृति

blog

वि.सं. २०७९ मङ्सिरमा फाइन प्रिन्टद्वारा प्रकाशित ‘सुश्री पारिजात’ गोविन्द गिरी प्रेरणाद्वारा तयार पारिएको जीवनीमूलक कृति हो । तीन सय छयानब्वे पृष्ठको यो कृतिमा पारिजातका विषयमा थप जानकारी प्राप्त गर्न सकिने अनुक्रमणिकासहितका तस्बिर र अन्य स्रोत सामग्री पनि संलग्न गरिएका छन् । 

नेपाली साहित्यमा पारिजात सर्वाधिक विवाद र चर्चामा रहेकी स्रष्टा हुनुहुन्छ । पारिजातका बारेमा यसअघि पनि जीवनी नलेखिएका होइनन् । तथापि गिरीजीको यो कृतिमा पारिजातका लुकेका र छुटेका पाटामाथि चियाउने प्रयास गरिएको छ । पारिजात वामपन्थी विचारकी लेखिका भए पनि गैरवामपन्थीसमेत उहाँप्रति उत्तिकै आकर्षित हुन्थे । त्यसैले उहाँको लोकप्रियता सर्वत्र व्याप्त थियो । पारिजातलाई सर्वाधिक चर्चामा ल्याउने उहाँको औपन्यासिक कृति ‘शिरीषको फूल’ भए पनि पारिजातको स्वाभिमान र स्वच्छन्द निर्भीक जीवनशैली अर्को उदाहरणीय पाटो हो । पारिजातलाई पारिजात बनाउने उहाँकी सहोदर बहिनी सुकन्या हुनुहुन्छ भने त्यस कालका कमल दीक्षित, शङ्कर लामिछाने, भूपि शेरचन, बालमुकुन्ददेव पाण्डे र आफ्ना मण्डलीहरू राल्फाली समूह पनि उत्तिकै स्मरणीय हुनुहुन्छ । पारिजातको जन्मथलो दार्जिलिङदेखि काठमाडौँसम्मको स्थायी बसोवासको क्रम निकै कठिन र सङ्घर्षपूर्ण थियो । डा. कालुसिंह तामाङ र अमृत योन्जनको कोखबाट वि.सं. १९९० फागुन ३० गते दार्जिलिङको लिङ्गिया चिया बगानमा जन्मनुभएकी विष्णुकुमारी वाइबा नेपाली साहित्यमा पारिजातका नामले चर्चित हुनुहुन्छ । 

‘सुश्री पारिजात’मा ‘दार्जिलिङः छेकुडोल्मादेखि विष्णुकुमारी वाइबा, ‘काठमाडौँका सुरुवाती दिन’, ‘जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर’, ‘राल्फा युग र पारिजात’, ‘कथायात्रा’, ‘आरोप’, ‘प्रगतिवादी लेखन’, ‘पारिजात र राजनीति’, ‘सम्पादन, अनुवाद र लेखन’, ‘आनीबानी’, ‘पारिजातको साहित्यिक दृष्टि’, ‘विविध संलग्नता’ र ‘चिरनिद्रामा’ गरी बाह्रखण्डमा विभाजित विभिन्न उपशीर्षकसहित पारिजातलाई साङ्गोपाङ्ग देखाउने प्रयासमा गोविन्द गिरी ‘प्रेरणा’ले एक मानक र आधिकारिक कार्य गर्नुभएको स्वीकार गर्न सकिन्छ । 

पारिजातमाथि अध्ययन गर्ने क्रममा विभिन्न स्रोत व्यक्ति, पुस्तक पत्रपत्रिका, सङ्घ, संस्था वा पुस्तकालयलाई आधार बनाएर सन्दर्भ सामग्रीको परिमाण नै एक विशिष्ट साक्षी बनाइएको यो कृति पठनीय र अनुसन्धानमूलक छ । पुटपटमा बौद्धिक क्रान्तिकारिताले भरिएकी पारिजातलाई नेपालले मात्र चिनेन, विश्वले पनि चिन्ने प्रयास गरेका अनेक सन्दर्भलाई संलग्न गरिएको छ । पारिजातको ‘धर्ती’ मा प्रकाशित तीनवटा कविताबाट उदय भएको प्रसङ्ग र ‘रूपरेखा’ सित जोडिएको ‘स्थापना सन्दर्भ’ कम रोचक छैन । काठमाडौँले पारिजातलाई यथास्थान दिएकै हो, स्वीकार गर्नै पर्छ । पारिजात जति अन्तर्मुखी हुनुहुन्थ्यो उदार हुनुहुन्थ्यो, स्वच्छन्द हुनुहुन्थ्यो, निर्भीक हुनुहुन्थ्यो, त्यत्तिकै घोर हठवादी हुनुहुन्थ्यो । यसको दृष्टान्त मोदनाथ प्रश्रितलाई शेक्सपियरको क्रूर पात्र शाइलकसित जोडेर हेरिएका घटनाक्रमले साबित गर्छ । प्रेमको प्रसङ्गमा पनि धनुवर मुखियासित रहेको आकर्षण र अस्वीकारबाट उहाँको अर्को हठवादिता छर्लङ्गिन्छ । यी सबै प्रकृतिकी पारिजात समग्रमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खुबीकी स्रष्टा हुनुुहुन्छ । बैंसमै अस्वस्थ्य हुँदै गइरहनु भएकी पारिजातको उत्तराद्र्ध जीवन कष्टपूर्ण हुँदै गइरहेको थियो । आर्थिक सङ्कटले ग्रस्त हुँदा होस् वा स्वास्थ्यमा आएको गिरावटले होस्, पारिजातले जीवनबाट हरेस खानु भएन । पञ्चायतको 

निरङ्कुश शासनकालमा विद्रोह र चेतनाको उद्घोष गर्नुहुने पारिजातको सिर्जनधर्मिता सधँै आफ्नो उचाइमा रह्यो । गोविन्द गिरी ‘प्रेरणा’ले पारिजातको व्यक्तिगत जीवनदेखि साहित्यिक, सांस्कृतिक जीवनलाई आफूले सङ्ग्रह गरेका स्रोत सामग्रीबाट यथोचित पुष्टि गर्न खोजेको देखिन्छ । 

पारिजातले कविता लेख्नु भयो । कथा लेख्नु भयो । उपन्यास लेख्नु भयो । स्तम्भ लेख्नु भयो । चलचित्रको स्क्रिप्ट लेख्नु भयो । ती सबै के कति कालजयी भए, इतिहासले मूल्याङ्कन गर्ने नै छ । तथापि उहाँको ‘शिरीषको फूल’ चाहिँ कालजयी भएको तथ्य सबैले स्वीकार गर्नै पर्छ । पारिजातको बहुआयामिक पाटोमाथि सूक्ष्म विश्लेषण गरेर तयार पारिएको यो कृति ‘सुश्री पारिजात’ बजारमा देखापरेका अन्य जीवनीमूलक कृतिभन्दा स्वाद, सन्तुष्टि र आधिकारिकताका दृष्टिले श्रेष्ठ छ । 

एउटा स्थापित स्रष्टाले अर्को अग्रज स्रष्टामाथि जीवनीमूलक कृति लेखेर सार्वजनिक गर्ने कार्य कम जोखिमयुक्त हुँदैन । गिरीजीले एउटा जोखिम बहन गर्नु भएकै हो । 

यो पुस्तक प्रकाशनको श्रेय ‘अरबी मूलकी अमेरिकी नृवंशशास्त्री तथा पारिजातकी अनन्य मित्र बार्बरा निम्री अजिजलाई जान्छ’ भनेर गिरीले उद्घोष गर्नुभएको भए पनि सुकन्या र अन्य आधिकारिक स्रोत व्यक्तिहरूको पनि त्यतिकै ठूलो भूमिका रहेको देखिन्छ । झन् फाइनप्रिन्ट बुक्सले उठाएको जिम्मेवारीलाई त्यति सजिलै बिर्सन मिल्दैन । दार्जिलिङको बस्तीमै हुँदै दाजु बितेपछिको उदासीनता, मातृवात्सल्यको अभाव, पारिवारिक आर्थिक सङ्कट, कालिम्पोङमा सानिमाको आश्रयमा उत्पन्न जटिलता, स्कुलमा फी तिर्न नसकेको दयनीय स्थितिदेखि काठमाडौँ प्रवेशपछिका सङ्घर्ष, अस्वस्थ्य शरीर, सामाजिक उपेक्षा एक्लोपनको अनुभूति र पारिजातले भोग्नु भएको कष्टपूर्ण राजनीति जीवन यात्रालाई स्रोत सामग्रीबाट तथ्यगत प्रस्तुति गर्ने प्रयास पनि गिरीको थप जोखिम हो । 

पारिजातलाई अधिकांश पाठक, अध्येता वा शुभचिन्तकहरूले यसअघि जे जसरी पढेका र बुझेका भए पनि कतिपय सन्दर्भमा विशेष मनन गर्न सकिने कृति हो ‘सुश्री पारिजात’ । यस कार्यमा गोविन्द गिरी ‘प्रेरणालाई ‘अभिलेख व्यवस्थापन’ को एक सुपात्र सिद्ध गर्न सकिन्छ ।