• ९ मंसिर २०८१, आइतबार

सत्य र निष्ठाका प्रतिमूर्ति

blog

आज नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को स्मृति दिवस । २०६७ साल फागुन २० गते उहाँको निधन भएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकाल २००३ सालदेखि नै किसुनजी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००५ साल चैतमा भएको एकीकरणपश्चात् उहाँ महामन्त्री पनि बन्नुभयो । नेपाली राष्ट्रिय कांग्रेसको नेता हुँदा नै उहाँ २००५ सालदेखि सशस्त्र क्रान्तिको पूर्वतयारीका क्रममा सप्तरीको सीमावर्ती भारतीय बजार कुनौलीमा क्याम्प बनाएर बस्न थाल्नुभएको थियो ।

कुनौली क्याम्पमा उहाँलाई सप्तरीका कांग्रेसी नेता–कार्यकर्ताले सारा खर्च बेहोर्ने गर्दथे । तत्कालीन सप्तरी कांग्रेसका इन्चार्ज कुशेश्वर पाठकले आफ्नो श्रीसम्पत्ति बेचेर क्याम्पमा सहयोग गर्नुहुन्थ्यो । २००६ सालमा किसुनजीकै निर्देशनमा कुशेश्वर पाठक, गजेन्द्रनारायण सिंह र महेन्द्र रायले केही कार्यकर्तालाई साथ लिई राजविराजमा आई राणाशासकको विरुद्धमा क्रान्तिको पक्षमा नारा लगाउँदै बजार परिक्रमा गरिरहनुभएको थियो । त्यतिबेला नै प्रहरीले पक्राउ गरी कोर्राले हानी उहाँहरूलाई बन्दी बनायो । केही महिनापछि हतकडी लागेकै अवस्थामा जेल तोडेर भागी उहाँहरू कुनौली क्याम्पमा पुग्नुभयो । तिनीहरूलाई किसुनजीले हार्दिक स्वागत गरी स्याबासी दिनुभएको थियो । 

२००७ सालको जनक्रान्तिको बेला उहाँले सप्तरी जिल्लाको कमान्डर भई नेतृत्व गर्नुभएको थियो । त्यतिबेला सप्तरी र सिरहा एउटै जिल्ला थियो । पछि किसुनजी अर्को कमान्डर रुद्रप्रसाद गिरीसँगै बस्तीपुर हुँदै क्रान्तिकारी कार्यकर्ताको साथ लिई उदयपुरगढीमाथि आक्रमण गर्न पुग्नुभयो । आक्रमणपछि बडाहाकिमलाई कैद गरी माल अड्डाका सम्पूर्ण रकम जफत गर्नुभयो । २०१० सालमा वीरगञ्जमा भएको महाधिवेशनमा सप्तरीबाट नै डिलिगेट भएर भाग लिनुभएको थियो । पछि सप्तरीबाट नै नागरिकता पनि लिनुभएको कुरा पुराना कांग्रेसीले बताएका छन् ।

किसुनजी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका प्रति सधैँ निष्ठावान् र समर्पित भइरहनुभयो । पञ्चायतविरोधी आन्दोलन स्वदेशमै बसेर गर्नुपर्छ, विदेशी भूमिमा होइन भनेर बीपी कोइरालाहरूसँग भारत प्रवासमा जान मान्नुभएन । बरु स्वदेशमै कष्टपूर्ण जीवन झेल्न तयार हुनुभयो । मुलुकबारे निर्णय गर्दा किसुनजीलाई सम्झेर उहाँले देखाउनुभएको बाटो अनुसरण गर्नु हामी सबैको कर्तव्य हो ।

२०१६ सालमा किसुनजीले संसद्को पहिलो सभामुख भई आफ्नो कार्यकुशलताको परिचय दिनुभएको थियो । जननिर्वाचित संसद्को सभामुख भएर उहाँले १८ महिना मात्र काम गर्ने अवसर पाउनुभएको थियो । त्यसपछि २०१७ साल पुस १ गते राजा महेन्द्रबाट भएको राजनीतिक ‘कु’बाट संसद् र सरकार विघटन भएपछि किसुनजी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै जेल पर्नुभयो ।

त्यसअघि कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेरले २०२५ साल जेठ २ गते राजालाई देश विकासमा सहयोग टक्र्याउने भनी दिएको वक्तव्यका आधारमा बीपी कोइराला र गणेशमान सिंहले कागजमा हस्ताक्षर गरी त्यही साल कात्तिक १५ गते जेलबाट छुट्नुभएको थियो । किसुनजीले कागजमा हस्ताक्षर नगर्ने अडान लिँदा उहाँलाई एक वर्षपछि मात्रै जेलमुक्त गरियो । 

जेलजीवनबाट छुटेपछि किसुनजी बीपी र गणेशमान सिंहजस्तै भारत प्रवासमा नगई स्वदेशमै बसेर प्रजातान्त्रिक पुनस्र्थापनाको लडाइँमा सतत् रूपमा लागिरहनुभयो । उहाँले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको उद्घाटन गर्दै भन्नुभएको थियो– प्रजातन्त्रको लडाइँ देशभित्रै गर्नुपर्छ । यसका लागि राजामाथि व्यापक जनदबाब सिर्जना गरिनुपर्छ । ५० हजार जनताले राजदरबार घेरेर राजामाथि दबाब दिई बाध्य तुल्याउन सके तुरुन्त प्रजातन्त्र बहाली हुन सक्छ ।

२०३४ साल वैशाखमा राजविराज जाँदा रुपनीमा पञ्चायतका मण्डलेहरूले अञ्चलाधीशको उस्काहटमा उहाँको बेइज्जत गर्ने कोसिस गरेका थिए । त्यतिबेला उहाँ सप्तरीका पुराना कांग्रेसी जयन्ती शर्माको घरमा बस्नुभएको बेला पङ्क्तिकारले राष्ट्रपुकार (साप्ताहिक)का लागि अन्तर्वार्ता लिएको थियो । त्यसपछि किसुनजी धरानतिर लाग्नुभयो । यसरी किसुनजीले देश दौडाहा गरेर स्वदेशबाटै प्रजातन्त्र पुनस्र्थापनाको बिगुल फुक्नुभएको थियो । आखिरी त्यही सिद्धान्त कालान्तरमा सिद्ध भयो ।

बीपी लामो प्रवासपछि स्वदेश आगमनपश्चात् २०३६ सालमा भएको विद्यार्थी आन्दोलनका कारण जनमत सङ्ग्रहको घोषणा गर्न राजा बाध्य भएका थिए । जनमत सङ्ग्रहमा झिनो मतले बहुदलीय पक्ष पराजय भए पनि पञ्चायती व्यवस्थाको विपक्षमा २० लाख जनताले मत जाहेर गरेका थिए । जनमत सङ्ग्रहपछि बहुदल पक्षमा ठूलो आधार प्राप्त भएको थियो । त्यसको एक दशकपछि २०४६ सालमा भएको जनआन्दोलनमा जनता राजदरबार घेर्न जान लाग्दा राजा वीरेन्द्रले चैत २६ गते बहुदलीय व्यवस्था घोषणा गर्न बाध्य हुनुप¥यो । किसुनजीले २०२७ साल वैशाखमा नेविसङ्घको उद्घाटनका अवसरमा व्यक्त भावना करिब १० वर्षपछि २०४६ सालमा आएर सत्य साबित भयो ।

कांग्रेसको नेतृत्वमा मुलुक चल्नुपर्ने बेला अन्य पार्टीको सहारामा सरकारमा जानु परेको छ । कतै नेतृत्व पङ्क्तिबाट समयमै सुझबुझपूर्ण निर्णय नभएकाले यस्तो अवस्था आएको त होइन ? किसुनजी पथलाई मात्र अँगाल्ने हो भने कांग्रेसको भविष्य मात्र उन्नत हुने छैन, आमकांग्रेसजनको भलो हुनेछ ।

जनआन्दोलनबाट पुनस्र्थापित प्रजातन्त्र संस्थागत गर्ने गुरुत्तर दायित्व किसुनजीलाई नै प्राप्त भयो । उहाँलाई नै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरियो । तीन दशक लामो निरङ्कुश राजतन्त्रलाई प्रजातान्त्रिक मूलधारमा ल्याउन २०४७ सालको संविधान निर्माणका क्रममा किसुनजीले निकै कसरत गर्नुपयो । राजदरबारले आफ्नो अनुकूल संविधान बनाउन किसुनजीलाई निकै दबाब दिएको थियो । यसका लागि दरबारले प्रधानसेनापतिलगायत जर्नेलहरूलाई समेत प्रयोग गरेको थियो । यस क्रममा किसुनजीलाई धम्कीसमेत दिइएको थियो ।

तर धम्कीको रत्तिभर पर्वाह नगरी किसुनजीले भविष्यमा बहुदलीय संसदीय व्यवस्था कसैले नखोस्ने गरी संविधानमा प्रत्याभूत गराई राजालाई संविधानरूपी पिँजडामा बाँधी छोडे । २०५० सालमा एमाले नेता मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा किसुनलाई पार्टीले उम्मेदवार उठायो तर उहाँलाई आफ्नै पार्टीका विरोधी गुटका कार्यकर्ताले हराए । उहाँले पीडालाई पिएरै पचाउनुभयो । 

२०५६ सालमा संसद् चुनावमा किसुनजीलाई पर्साबाट उम्मेदवार बनाइयो । उक्त निर्वाचनमा विजयी बनेपछि उहाँ प्रधानमन्त्री बन्नुभयो तर १० महिना नबित्दै गिरिजाप्रसाद कोइरालाले राजीनामा दिन बाध्य पार्नुभयो । किसुनजीले फ्रान्स भ्रमण गरेर फर्केपछि राजीनामा दिने भनी राखेको प्रस्ताव कोइरालाले मान्नुभएन । अन्त्यमा संसद्को बैठकलाई सम्बोधन गरी राजीनामा घोषणा गर्नुभयो । संसद्मा उहाँले गर्नुभएको सम्बोधनले धेरैका आँखा रसाएका थिए । 

२०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश समाप्त भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजा भए । राजा भएको केही महिनापछि नै राजा ज्ञानेन्द्रले संसद् विघटन गरी राष्ट्रको कार्यकारी अधिकार आफ्नो हातमा लिनुभयो । राजा ज्ञानेन्द्रले आफ्ना बाबु महेन्द्रले जस्तै क्रमशः प्रजातन्त्र मास्ने षड्यन्त्र गर्न थाले । त्यतिबेला राजा ज्ञानेन्द्रले राजदरबारमा किसुनजीलाई बोलाई प्रधानमन्त्री हुन आमन्त्रण गर्नुभयो ।

किसुनजीले जनताको अधिकार फिर्ता गरे मात्र प्रधानमन्त्री बन्ने विचार गर्ने बताउनुभएको थियो तर मिडियाले यस कुरालाई गलत ढङ्गले प्रस्तुत गरिदिए । उहाँ प्रधानमन्त्री बन्न तयार नभएपछि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीका लागि दरबारमा बिन्तीपत्र हालेका थिए । केही दलहरू र तिनका नेताहरू प्रतिगमन आधा सच्चियो भनी प्रधानमन्त्री र मन्त्री खान पुगे ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही समूह नेकपा (माओवादी)सहितको सहभागितामा भएको २०६२÷६३ को जनआन्दोलनपछि सधैँका लागि निरङ्कुश राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना हुन पुग्यो । यसरी किसुनजीको आग्रह र चेतावनीविरुद्ध राजा ज्ञानेन्द्रको राजहठले करिब अढाई सय वर्षको सामन्ती राजतन्त्र सदाका लागि नेपाली धर्तीबाट बिदा भयो । कांग्रेसले आफ्नो संवैधानिक राजतन्त्रप्रतिको नीति परित्याग गरी वामपन्थीहरूजस्तै गणतन्त्रमा गएको देखेर किसुनजीले निकै दुःख मनाउ गर्नुभएको थियो । कांग्रेसले गणतन्त्रमा जाने निधो गरेपछि किसुनजीले वक्तव्यमार्फत तर जनउभारको अगाडि कांग्रेसले पनि एक्लै राजालाई विगतमा जस्तै काँधमा बोकेर हिँड्न सकेन । राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मले कांग्रेसको संवैधानिक राजतन्त्रप्रतिको नीतिलाई पटकपटक धोखा दिँदै आएकाले राजतन्त्रको अवसान हुन पुगेको हो ।

सन्त नेता किसुनजी आफू प्रजातन्त्र पुनस्र्थापनापछि दुई÷दुई पटक निर्वाचनमा हारे पनि, निर्वाचित प्रधानमन्त्री भएर बाध्यतामा राजीनामा गर्दा पनि आफ्नो आदर्श, निष्ठाबाट विचलित हुनुभएन । किसुनजी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका प्रति सधैँ निष्ठावान् र समर्पित भइरहनुभयो । पञ्चायतविरोधी आन्दोलन स्वदेशमै बसेर गर्नुपर्छ, विदेशी भूमिमा होइन भनेर बीपी कोइरालाहरूसँग भारत प्रवासमा जान मान्नुभएन । 

यस्ता निष्ठावान् प्रजातन्त्रवादी नेता किसुनजीले देखाउनुभएको बाटो अनुसरण गर्नु हामी सबैको कर्तव्य हो । कांग्रेसको अहिलेका गतिविधि देख्नु परेको भए किसुनजी कति दुःखी हुनुहुन्थ्यो होला ? कांग्रेसको नेतृत्वमा मुलुक चल्नुपर्ने बेला अन्य पार्टीको सहारामा सरकारमा जानु परेको छ । कतै नेतृत्व पङ्क्तिबाट समयमै सुझबुझपूर्ण निर्णय नभएकाले यस्तो अवस्था आएको त होइन ? समीक्षा गर्न ढिला भइसकेको छ । किसुनजी पथलाई मात्र अँगाल्ने हो भने कांग्रेसको भविष्य मात्र उन्नत हुने छैन, आमकांग्रेसजनको भलो हुनेछ । 

लेखक सञ्चारकर्मी हुनुहुन्छ ।