काठमाडौँ फागुन १९ गते । बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ ।
४७ वर्षीया सुस्मिताले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मार्फत आफूलाई हृदयाघात भएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई ‘एन्जियोप्लास्ट’ गरिएको पनि जनाउनुभएको छ ।
उहाँले इन्स्टाग्राममा लेख्नुभएको छ, “आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् । तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै लड्छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गर्नुभएको छ ।” “समयमै सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु, यो पोस्टमार्फत मेरा प्रियजन र प्रशंसकलाई खुसीको खबर सुनाउन चाहन्छु, अहिले सबै कुरा ठीक छ,” उहाँले भन्नुभएको छ । एजेन्सी