काठमाडौं, फागुन १८ गते । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो । उक्त कृतिका सम्पादक रहनु भएका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताउनु भयो ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित स् भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गर्नुभयो । यी तीनवटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा. मोदनाथ प्रश्रित, प्रा.डा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रस्तुत भएको थियो ।
वानीरा फाउन्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतद्वारा सञ्चालित उक्त समारोह वानीरा फाउन्डेसन भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको सङ्ग्रहालय वानीरा फाउन्डेसन नै पहिलो मानिन्छ ।
वैरागी काइँलाबाट वानीरा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।