• १३ साउन २०८१, आइतबार

सुकुटी व्यवसायमा जमेका महेन्द्र

blog

चमेरे होटलमा पाहुनाको सत्कारका लागि सुकुटी बनाउन सुकाएको मासु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन १८ गते । पर्यटन व्यवसाय अनि भर्जिन गन्तव्य भनेर चिनिने मुस्ताङको उपल्लो भेगतर्फ पर्ने साबिकको छुसाङ गाविस –३ भ्रकका स्थायी बासिन्दा महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्न लाग्यो । हाल बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने भ्रकमा महेन्द्रले म्याग्दीमा आएर सुकुटी व्यवसायमा जम्नुभएको छ । 

२०५२ मा म्याग्दीको साविक पीप्पले गाविसको घोडेढुङ्गामा होटल सुरु गर्नुभएका उहाँलाई पत्निको राम्रो साथ छ । महेन्द्र भन्नुहुन्छ, “२४ वर्षको उमेरमा विवाह गरेर घरबाट निस्केपछि बागलुङ्गका एक जना साथी र मेरो मामाको छोरीले केही आर्थिक सहयोग गर्नु भएपछि होटल शुरु गर्न आवश्यक सामग्री खरीदका गरेर व्यवसाय सुरु गरेको थिएँ ।”

२०६० सम्म घोडेढुङ्गामै होटल गरेपछि त्योभन्दा केही माथि चमेरे भन्ने ठाउँमा व्यवसाय सारेर थप व्यवस्थित बनाएर व्यसाय गरेको उहाँले बताउनुभयो । घोडेढुङ्गामा व्यवसाय गर्दा मुस्ताङका मात्रै ग्राहक रहेको तर बेनी बजारक्षेत्रमा व्यवसाय शुरु गर्दा सबैतिरका ग्राहक आएको उहाँको बुझाइ छ । 

मेरोमा पाइने सबै प्रकारका सुकुटी सबैको रोजाइ बनेको उहाँले बताउनुभयो । पर्वतको जलजला गाउँपालिका धाइरीङ घर भई बेनी बजारमा व्यवसाय गर्दै आउनुभएको छ ।


याक, चौरी तथा बफ एवम् च्याङ्ग्रा र खशीको सुकुटी महेन्द्रले सञ्चालन गरेको चमेरे होटलको मुख्य परिकार हो । लोकल कुखुराको मासु, टिमुरको चटनी मुस्ताङ्गको आलु चमेरे होटलमा आउने पाहुनाले रुचाउने परिकारमा पर्छ । 

त्यही स्थानमा व्यवसाय गर्दै महेन्द्रले पोखराको जिरो किमिमा एउटा घर बनाउनु भएको छ । दुई कर्मचारीसहित श्रीमानश्रीमती गरी चार जनाले पूर्णकालिन रुपमा होटलमा खट्दै आएको उहाँले बताउनुभयो । प्रयास गरेमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उहाँको युवालाई सुझाव छ ।