• २४ पुस २०८१, बुधबार

विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन १८ गते । कमजोर ब्याटिङ गरेपछि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आयोजक युएईसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । जितका लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाउनुभयो । सन्दीप लामिछानेले अविजित २६ रन बनाउनुभयो । ओपनर आशिफ शेखले १७ रन जोड्नुभयो । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा युएईका रोहन मुस्तफा र कार्तिक मियाप्पनले तीन तीन विकेट लिनुभयो । जुनिद सिद्धिक्वीले दुई तथा सविर अली र जाहोर खानले र एक एक विकेट लिनुभयो । 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन बनाउनुभयो । रोहन मुस्ताफले अविजित ५२, आर्यन लाक्राले २८, कप्तान सिपी रिजवानले २२ र वृत्य अरविन्द १८ रन बनाउनुभयो । 

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । करण केसी, कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिनुभयो । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको थियो ।

हारसँगै ३० खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । विजेता युएई ३० खेलबाट ३१ अङ्क जोड्दै पाँचौं स्थानमा छ । ३० खेलबाट सात अङ्क बनाएको पीएनजी अन्तिममा छ । नेपालले अब तेस्रो खेल शुक्रबार पीएनजी र अन्तिम खेल २२ गते पुन: युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । युएईसँगको हारले नेपालको विश्वकप छनोट कठिन बनेको छ ।