• २४ पुस २०८१, बुधबार

कुलुङ र बुढालाई अल्ट्रा म्याराथन उपाधि

blog

अल्ट्रा म्याराथुन उपाधि विजेताहरु । तस्बिर : गोरखापत्र

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन १८ गते । खिजीदेम्बा गाउँपालिकामा सम्पन्न चौथो अल्ट्रा फुल म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले जित्नुभएको छ । विहीबार सम्पन्न ४२ किलोमिटर अल्ट्रा ट्रेल रेस फुल म्याराथनको अन्तर्राष्ट्रिय तर्फको उपाधि कुलुङ र बुढाले जित्नुभएको हो । 

कुलुङले निर्धारित दूरी तीन घण्टा ४९ मिनेटमा पार गर्नुभएको थियो । त्यस्तै पुरुषतर्फ भोजपुरका तीर्थ तामाङ दोस्राे हुनुभएको छ । उहाँले तीन घण्टा ५० मिनेटमा ४२ किलोमिटर दूरी पार गर्नुभएको थियो ।

त्यसैगरी सोलुखुम्बुकै अर्जुन कुलुङले तीन घण्टा ५५ मिनेटमा उक्त दूरी पार गर्दै तेस्राे हुनुभएको छ । चार घण्टा १८ मिनेटमा दूरी पार गर्दै बैतडीका मोहनदेव जोशी सान्त्वना हुनुभएको छ । 

त्यस्तै महिलातर्फ जुम्लाकै मञ्जु राउत दोस्राे, खोटाङ्की प्रिया राई तेस्राे र सिन्धुपाल्चोककी रितु तामाङ सान्त्वना हुनुभएको छ । अन्तर्राष्ट्रिय फुल म्याराथनतर्फ पहिलो, दोस्राे, तेस्राे र सान्त्वना हुनुभएका प्रतियोगीहरुलाई क्रमशः ७० हजार, ६० हजार, ५० हजार र २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताउनुभयो । 

त्यसैगरी स्थानिय प्रतियोगिहरु विच भएको प्रतियोगितामा पुरुषतर्फ मानेभञ्ज्याङ गाउँपालिकाका कृति राई प्रथम हुनुभएको छ । खिजिदेम्बा गाउँपालिकाको रविन्द्र तामाङ र देवराज सुनुवार दोस्राे र तेस्राे हुनुभएको शेर्पाले जानकारी दिनुभयो ।

महिलातर्फ खिजिदेम्बा गाउँपालिकाका पदम कुमारी सुनुवार प्रथम, निरु भुजेल दोस्राे र अनिता सुनुवार तेस्राे हुनुभएको छ । स्थानीयतर्फका विजेता प्रतियोगीहरु प्रथमलाई २० हजार, दोस्राेलाई १५ हजार र तेस्राेलाई १० हजा सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको शेर्पाको भनाइ छ । 

खिजिदेम्बामा आयोजना गरिएको यस प्रतियोगिताले जिल्लाका साथै गाउँपालिकाको पर्यटन क्षेत्रको प्रवर्धनमा सहयोग पुगेको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

खिजिफलाटे बजारदेखि चुप्लु भञ्ज्याङ, थोलेदेम्बा डाँडा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, दोब्रे भञ्ज्याङ हुँदै पुन खिजिफलाटे बजार ४२ किलोमिटर दूरीमा दाैड गराइएको थियो । 

ओखलढुङ्गा पर्यटन विकास समिति र खिजिदेम्बा गाउँपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय साथै राष्ट्रिय अल्ट्रा फुल म्याराथन गरिएको हो । प्रतियोगितामा स्वदेश तथा विदेशका ४० पुरुष र १८ महिला गरी ५८ जना धावक सहभागी हुनुभएको थियो ।