जयकृष्ण यादव
इनरुवा, फागुन १८ गते। इनरुवा नगरपालिकामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिले दर्शक उत्साहित भएका छन्। इनरुवाको पहिचान देशभर फैलाउन र चलचित्रको उर्वरभूमिको रुपमा चिनाउन आयोजना गरेको प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको आगमनले दर्शक उत्साहित बनेका हुन्। नेपाल चलचित्र महासङ्घ कोशी प्रदेशको आयोजनामा भएको महोत्सवमा कोशी प्रदेशमा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिएको छ।
उत्सव तथा महोत्सवमा सीजी सिनेमा हलमा एक हजार बढी दर्शकले निःशुल्क चलचित्र अवलोकन गरेको आयोजक महासङ्घका प्रदेश अध्यक्ष अरुण प्रधानले जानकारी दिनुभयो। फिल्म प्रदर्शनीसहित महोत्सवमा जातीय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सीलगायतका प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको हो।
महोत्सवमा कलाकार मेलिना निरौला, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रामा मण्डल, पुष्प श्रेष्ठ, एलिना चौहान, प्रकाश ओझा, गोगिन्द्र पानबाला निशु धिमाल, प्रकाश अनुराग, भोटन मेहतालगायतको प्रस्तुति थियो।
कार्यक्रममा इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारितालगायत क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको महासङ्घका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो।