• १३ साउन २०८१, आइतबार

पाँच वर्षमा खुम्बु पुगे दुई लाख २५ हजार पर्यटक

blog

काठमाडौँ, फागुन १७ गते । पछिल्लो पाँच वर्षको अवधिमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्म खुम्बु क्षेत्रको पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या दुई लाख २५ हजार भन्दा बढी भएको हो । 

पर्यटक शुल्कबाट मात्र गाउँपालिकाले पाँच वर्षको अवधिमा ४५ करोड चार लाख ७० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । नेपालकै मुख्य पर्यटकीय क्षेत्रको रूपमा चिनिने खुम्बु क्षेत्रको विकासका लागि गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको खुम्बु क्षेत्रको पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको अवसरमा गाउँपालिकाले तथ्याङ्क सार्वजनिक गरेको हो । 

खुम्बु क्षेत्रको पर्यटनलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाले सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । ७५३ स्थानीय तह मध्ये पर्यटकीय गाउँपालिकाको रूपमा मानिने खुम्बुले सुरक्षित पर्यटकीय गन्तव्य, एकीकृत रूपमा पर्यटकको सुरक्षा नीति लगायतका व्यवस्थापकीय क्षेत्रलाई समेत थप सुधार गर्दै आउने वर्षहरूमा पर्यटक आगमनको सङ्ख्या दोब्बरले वृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष शेर्पाले बताउनुभयो । 


प्राकृतिक स्रोतले भरिपूर्ण खुम्बुको सम्भावना अथाह रहेकाले यसबाट हुने आम्दानीले मात्र खुम्बुको समृद्धि हुने कार्यक्रममा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले बताउनुभयो । हिमालै हिमालको देश भनेर चिनिने नेपाल त्यसमाथि पनि खुम्बु गाउँपालिका भित्र मात्र अग्ला र होचा गरी पहिचान भएका ७८ वटा हिमाल रहेका छन् । पदयात्रा मात्र नभएर पर्वतीय पर्यटनलाई मुख्य जोड दिएर गाउँपालिकाले नीति अनुरुपमा सुधार गर्ने लक्ष्य राखेको अध्यक्ष शेर्पाले जनाएको छ । नीति मात्र नभएर पूर्वाधार समेत अभाव भएकाले सबै निकायसँग समन्वय गर्ने र सडक विस्तारलाई पहिलो प्राथमिकता राखेर काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । खुम्बु जोड्ने सडक अभाव हुँदा हालसम्म लुक्ला विमानस्थलबाट हवाई मार्गकै भर पर्नु पर्ने बाध्यता रहेको छ । सल्लेरी बाट थाम डाँडासम्म सडक पुगेकाले लुक्ला सम्म सडक जोड्ने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रमका वक्ताहरूले खुम्बु क्षेत्रमा मौसमअनुसार पर्यटकको सङ्ख्या बढी हुने भएकाले होटेल र लज व्यवस्थापन प्रभावकारी बनाउनु मुख्य रहेको बताएका थिए । भरियाको व्यवस्थापन, उद्धारका कार्य, पर्यटक शुल्कसँगै टिम्सको नाममा लिइने शुल्क बाधक बनेकाले एकद्धार प्रणाली लागु गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जे शेर्पा, प्रदेश एकका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, पर्यटन विभागका निर्देशक युवराज खतिवडा लगायत पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । 

एक हजार ५९९ मिटर देखि सुरु हुने यस खुम्बु क्षेत्र आठ हजार ८४८.८६ मिटरसम्म फैलिएको छ ।