• २२ असार २०८२, आइतबार

टुङ्गो लागेन पालिका मुकाम

blog

अमरगढी समाचारदाता 

डडेल्धुरा, फागुन १७ गते । भागेश्वर गाउँपालिकाको स्थायी मुकामको विवाद अझै सुल्झिन सकेको छैन। बारम्बार सर्वपक्षीय बैठक गरिए पनि स्थायी मुकाम कुन ठाउँमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन। गाउँपालिका–४ स्थित बगरकोटको अस्थायी मुकामबाट सेवा दिइरहेको छ।

सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म पालिकाको स्थायी मुकाम नतोकिएको स्थानीय तह भागेश्वर गाउँपालिका मात्र हो। वि.सं. २०७४ को स्थानीय निर्वाचनपछि गाउँ सभाले पालिकाको नामकरण ग-यो तर स्थायी मुकाम तोक्न सकेन। विगतमा पनि टप्वा, गुवाडीलगायतका अन्य क्षेत्रलाई स्थायी मुकाम तोक्ने प्रयास भए पनि निर्णय हुन सकेन। पहिलो कार्यकालमै पालिकाको स्थायी मुकाम कायम नहुँदा दोस्रो कार्यकालका लागि भएको स्थानीय निर्वाचनमा जनताको माग र जनप्रतिनिधिको प्रतिबद्धता स्थायी मुकाम बनाउने बनेको थियो। गाउँपालिका अध्यक्ष हेमराज चटौतले भन्नुभयो, “गएको स्थानीय सरकारले यो विषयलाई टुङ्ग्याउन त्यति असहज परिस्थिति थिएन। यो अहिले साँच्चिकै हाम्रा लागि पनि प्रश्न बनिरहेकाले लागि परेका छौँ।”

गाउँपालिका अध्यक्ष चटौतले फागुनको अन्तिम साता सर्वपक्षीय छलफलबाट स्थायी मुकामको टुङ्गो लगाउने गरेर छलफल गर्ने र आगामी असार १० गतेको गाउँ सभाबाट स्थायी मुकाम तोक्ने कसरतमा गाउँपालिका गृहकार्य गरिरहेको जानकारी दिनुभयो।

पाँचवटा वडा रहेको भागेश्वर गाउँपालिकाको हालको अस्थायी मुकामको प्रशासनिक भवन गरिबी निवारणका लागि बनाइएको भवन हो। अध्यक्षको कार्यकक्ष रहेको भवन दलित मञ्चले निर्माण गरेको हो।