• १३ असोज २०८१, आइतबार

शिक्षण अस्पताल बनाउन त्रिपक्षीय सम्झौता

blog

रङ्गेली समाचारदाता

विराटनगर, फागुन १७ गते । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पताल विराटनगरलाई प्रयोग गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच मेडिकल कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

मन्त्रिपरिषद्ले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोसी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्न शिक्षा र स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएका हुन्। प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माका अनुसार कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने योजना अब पूर्ण रूपले कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गर्नुभएको छ। उपकुलपति कोइरालाले अब कोसी अस्पताललाई टिचिङ (शिक्षण)को रूपमा प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षा दिने बाटो खुलेको छ। अब यो सम्झौताका आधारमा चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक संरचना अध्ययन गरेर अनुमति दिनेछ। 

यसअघि २०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो। सहमतिको एक वर्षपछि २०७९ माघ २३ गते मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो। मन्त्रिपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रक्रिया अघि बढाइएको हो।

मेडिकल कलेज सञ्चालनका लागि तीन सय शय्याको अस्पताल चाहिने प्रावधान छ तर पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन। सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोसी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो। विद्यार्थीको पढाइ भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ। पूर्वाञ्चल विश्वविद्यालयमै रहेको अस्पतालको क्षमता विकास गर्ने गरी काम पनि भइरहेको उपकुलपति कोइरालाले जानकारी दिनुभयो।