• १३ असोज २०८१, आइतबार

ताप्लेजुङमा स्थगित राष्ट्रपति शिल्ड हुने

blog

फुङ्लिङ नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता । फाइल तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १६ गते । ताप्लेजुङमा यसअघि स्थगित भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो फागुन २३ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । 

जिल्ला खेलकुद विकास समितिले मङ्गलबार सूचना प्रकाशित गर्दै पहिले तोकिएकै स्थान सिरिजङ्घा गाउँपालिकामा प्रतियोगिता हुने भएको हो । 

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसँगै जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । लिम्बूका अनुसार सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकस्थित तेल्लोक माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । 

नौवटा स्थानीय तह रहेको जिल्लामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता समयमा सम्पन्न नभएका कारण यसअघि फागुन १० देखि १३ गतेसम्म आयोजना गर्न लागिएको जिल्लास्तरीय प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा पालिकास्तरमा छनोट भएका खेलाडी विद्यार्थीले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो ।