• १३ साउन २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी । तस्बिर : स्वास्थ्य मन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

सोमबार स्वास्थ्य सेवा दिवसमा आयोजित कार्यक्रममा  बोल्दै मन्त्री गिरीले यस्तो प्रतिबद्धता गर्नुभएको हो । 

त्यसका लागि स्वास्थ्य क्षेत्रमा लाग्नुभएका सबै जनाले आ–आफ्नो ठाउँबाट एकताबद्ध भएर लाग्न मन्त्री गिरीले आग्रह गर्नुभयो । 

कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहँदासम्म बिनाकारण कुनै पनि कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने भन्दै सबै विभागीय प्रमुखलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “कर्मचारी सरुवा र जिम्मेवारी हेरफेर मेरो मुख्य प्राथमिकतामा छैन। कर्मचारीहरूलाई चेसको गोटीजस्तो कहिले यता कहिले उता पुराउनु हुँदैन। सबै विभागीय प्रमुखले ढुक्कसँग काम गर्नुस् ।”


यसका साथै मन्त्री गिरीले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक नदिने र श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई कठोर सजाय दिने बताउनु भएको छ । 

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा पाँच लाखसम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको जानकारी दिनुभयो । 

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता गर्नुभयो । स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने उहाँले जिकिर गर्नुभयो । 

यसका साथै  सातै प्रदेशमा डायलासिस सेवाका लागि प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलासिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने जानकारी दिनुभयो । 

मन्त्री गिरीले अस्पतालका सबै सेवा डिजिटलाइट प्रणालीमा लैजाने दाबी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले पाँचजना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।

दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने मूल नाराको साथ सोमबार देशैभरि स्वास्थ्य सेवा दिवस मनाइँदैछ। स्वास्थ्य सेवा ऐन २०५३ फाल्गुन १५ गते आएको उपलक्ष्यमा यो दिवस मनाइन्छ।