• ९ पुस २०८१, मङ्गलबार

विचार र मुद्दा मिल्नेसँग पार्टी एकता हुनसक्छ : अध्यक्ष नेपाल

blog

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : नविन शाही

नविन शाही

सुर्खेत, फागुन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताउनुभएको छ । कर्णाली प्रदेशस्तरीय पार्टीको आन्तरिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्न यहाँ आउनुभएका अध्यक्ष नेपालसँग विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  

अझै पनि विचार, सिद्धान्त र कार्यशैली मिलेपछि पार्टी एकता गर्ने कुराको सङ्केत गर्नुभयो । तर कसैसँग विलय हुने कुरामा छलफल नहुने उहाँले प्रष्ट पार्नुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वार्ता संवादको प्रयास गरे पनि एकीकृत हुने सम्भावना नभेटिएको उहाँको भनाइ छ । 

‘नेकपा एकता हुने सम्भावना खोजेका थियौँ । पहल पनि भयो, तर सम्भावना देखिएन ।’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र राष्ट्रियताको पक्षमा उभिएका दलहरुबीच अहिले गठबन्धन भएको छ ।’

देशको राष्ट्रियताको रक्षा र हितको मामिलामा समाजवादी पार्टी एकता गर्ने बताउनुभयो । देशमा भएको भ्रष्टाचार विरुद्धमा र सुशासन, संवृद्धिका पक्षमा राजनीतिक परिस्थिति निर्माण गर्ने कुरामा केन्द्रित हुनेपर्ने उहाँले बताउनुभयो ।  

गठबन्धनबाट राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई अगाडि सारिएको जानकारी दिँदै उहाँले उम्मेदवारका विषयमा चर्चा परिचर्चा अगाडि बढे पनि अन्तिम दिनमा सहमति जुटेको बताउनुभयो । राष्ट्रपतिको मनोनयन दर्तापछि राजनीतिक कोर्षले नयाँ मोड लिएको भन्दै अब यसमा कुनै विवाद नभएको जिकिर गर्नुभयो ।