• २४ चैत २०८२, मङ्गलबार

एसइई : छोरा र बाबुसहित तीन जना पक्राउ

blog

सहदेव बस्नेत
जाजरकोट, चैत २४ गते ।
जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सट्टामा परीक्षा दिने र दिन लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत १९ गतेदेखि सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत छेडागाड नगरपालिका–१२, कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सट्टामा परीक्षा दिएको आरोपमा एक नाबालकसहित तीन जनालाई पक्राउ गरिएको हो।

आइतबार सम्पन्न गणित विषयको परीक्षामा सांकेतिक नाम ‘फुम्ना बी’ नामको प्रवेशपत्र प्रयोग गरी एक नाबालकले आफ्नै बाबुको नाममा सट्टामा परीक्षा दिएका थिए। गोप्य सूचनाका आधारमा प्रहरी टोली परीक्षा केन्द्रमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती नाबालकले बाबुको नाममा परीक्षा दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी एकबहादुर नेपालीका अनुसार सट्टा परीक्षा दिन तथा नक्कली प्रवेशपत्र बनाउन सहयोग गर्ने छेडागाड नगरपालिका–११, झाप्रास्थित बाल माध्यमिक विद्यालयका ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीलाई पनि पक्राउ गरिएको छ। उहाँलाई आइतबार दिउँसो झाप्रास्थित विद्यालयअगाडिको सडकबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो।

प्रहरीले नाबालक, उनका बाबु र सहयोगी कालीबहादुर नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरू सबैविरुद्ध शिक्षा ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। नाबालकका हकमा जाजरकोट जिल्ला अदालतबाट पाँच दिन र अन्यका हकमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जाजरकोटमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित रूपमा सञ्चालन गर्ने क्रममा आफ्नो दायित्व पूरा नगर्ने ५० जना निरीक्षक तथा सहयोगीलाई निष्कासन गरिएको छ।