• १३ असोज २०८१, आइतबार

उत्कृष्ट सासू–बुहारी सम्मानित

blog

उत्कृष्ट सासु–बुहारी सम्मानित हुँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १५ गते । झापाको मेचीनगर नगरपालिकामा यस वर्ष पनि उत्कृष्ट सासू–बुहारी सम्मानित भएका छन् । समाजमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटिलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा अनुकरणीय सासू–बुहारीलाई बर्सेनि सम्मान गर्ने गरिएको छ ।

ज्येष्ठ नागरिक वडा समिति मेचीनगर –६ ले सुरु गरेको उत्कृष्ट सासु—बुहारी सम्मान अभियानले सकारात्मक प्रभाव पारेको स्थानीयको बुझाइ छ । सोमबार दुई जोडी सासू बुहारीलाई उत्कृष्ट सासू बुहारी सम्मान प्रदान गरिएको छ । 

मेचीनगर काँकडभिट्टा निवासी ५९ वर्षीया सासू कृष्णाकुमारी खत्री तथा बुहारी २९ वर्षीया एलिजा भट्टराई सम्मानित हुनुभयो । यसैगरी सासू
 ५२ वर्षीया शान्ता श्रेष्ठ र बुहारी ३२ वर्षीया जिना श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेलले दुई जोडी सासूबुहारी समाजका लागि उदाहरणीय भएको बताउनुभयो । यस प्रकारको सम्मान कार्यक्रमले सासू बुहारीलाई हेर्ने नकारात्मक दृष्टिकोणमा कमी आउँछ, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिक समिति मेचीनगरका अध्यक्ष नारायण प्रसाईँका अनुसार प्रत्येक वडाका उत्कृष्ट सासू बुहारीलाई खोजी बर्सेनि सम्मान गरिने कार्यलाई निरन्तरता दिने बताउनुभयो । ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक होस् भनेर आफूहरूले यस प्रकारको कार्यक्रमको सोच ल्याएको पनि प्रसाईँले बताउनुभयो । सम्मानको सुरुवात भएको र सबै वार्डमा यसै प्रकारले सम्मान गरिने उहाँको भनाइ छ ।