• १३ साउन २०८१, आइतबार

खोलाको बीचमा शिवथान गुफा

blog

तेह्रथुम समाचारदाता 

तेह्रथुम, फागुन १४ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को सङ्गम स्थल पिङ्गुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्त्व बोकेको मन्दिर रहेको छ। निकै समय गुमनाम रहेको यो मन्दिरमा पछिल्लो समय पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको आगमन बढ्दै गएको छ। 

दुई नगरपालिकाको सङ्गम स्थल भएर बग्ने पिङ्गुवा खोलामा प्राकृतिक तवरले निर्मित शिवथान मन्दिरको धार्मिक महत्त्व विशेष प्रकारको छ। खोलाको बीच भागमा रहेको शिवथान मन्दिर विभिन्न समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो। ऐतिहासिक धार्मिक महत्त्व बोकेको शिवथान मन्दिरमा वर्षौंदेखि आफ्ना पूर्वजले पूजाआजा गर्दै आएको स्थानीयवासी कालीबहादुर लिम्बूले बताउनुभयो । 

यस ठाउँमा, महाशिवरात्रि, श्रीपञ्चमी र साउन महिनाका साथै अन्य विभिन्न अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो। आन्तरिक पर्यटक आइरहने यस क्षेत्रमा पूजापाठ र दर्शन गरे मनोकाङ्क्षा पूरा हुने भक्तजनको भनाइ छ। 

शिवथानमा रहेको ढुङ्गाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ। शिवथान रहेको ढुङ्गाको आकृतिसमेत अनौठो छ। झट्ट हेर्दा मानव निर्मितजस्तै देखिने ढुङ्गाको मुख्य भागमा दुईवटा गुफा छन्। किंवदन्तीअनुसार महादेव र पार्वतीबीच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानमाथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको किंवदन्ती छ। पर्यटनको प्रचुर सम्भावना बोकेको यस मन्दिरको थप पूर्वाधार व्यवस्थापन गर्ने म्याङ्लुङ नगरपालिका–५ का वडाध्यक्ष राजकुमार सेनेहाङले बताउनुभयो। 

यो क्षेत्रको आवश्यक संरक्षण, संवद्र्धन, प्रवद्र्धन र प्रचारप्रसार भए अझ जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रूपमा विकास हुने शिवथान मन्दिर जिल्लाको मात्र नभएर प्रदेश १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ।