• १३ असोज २०८१, आइतबार

रेडक्रस शाखा सभापतिमा गुरुङ सर्वसम्मत

blog

नेपाल रेडक्रस सोसाइटी शाखाका नवनिर्वाचित पदाधिकारी।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १३ गते। ताप्लेजुङस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापतिमा इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न ४० औं वार्षिक साधारणसभा तथा १२ औं जिल्ला अधिवेशनबाट गुरुङ सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो। 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापतिमा गुरुङ दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो। शाखाको १७ सदस्यीय कार्यसमितिको उपसभापतिमा देवीमाया कार्की र सूर्यबहादुर लिम्बू, मन्त्रीमा विकास गौतम, उपमन्त्रीमा कमलप्रसाद भट्टराई, कोषाध्यक्षमा दिनेश अधिकारी, उप–कोषाध्यक्षमा तेजबहादुर भट्टराई खत्री चयन हुनुभएको छ। 

शाखाको महिला सदस्यमा मञ्जु पौडेल भट्टराई, दिलमाया लिम्बू श्रेष्ठ र जुनिता ओझा, खुला सदस्यमा टामन सिग्देल, मोहन न्यौपाने, कुलमणि दाहाल, नरेन्द्रकुमार अधिकारी, योगेश्वर निरौला, गुरुप्रसाद पौडेल र नरेन्द्रकुमार बिष्ट चयन हुनुभएको छ। शाखाको कार्यसमिति चयनका लागि भएको उम्मेदवारी (मनोनयन) दर्ताको क्रममा आवश्यक पद र सङ्ख्याअनुसार उम्मेदवारी दर्ता भएपछि निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेको थियो। 

साधारणसभामा निवर्तमान कार्यसमितिका मन्त्री विकास गौतमले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहन न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। 

शाखामा करिब तीन हजार आजीवन सदस्य रहेका छन् भने २३ वटा निर्वाचित र एक तदर्थ समिति गरी २४ वटा उपशाखा छन्। कार्यक्रममा ताप्लेजुङ रेडक्रसमा लामो समयसम्म नेतृत्व गर्दै योगदान गर्नुभएका तत्कालीन शाखा सभापति काजी श्रेष्ठलाई अभिनन्दन गरिएको शाखाले जनाएको छ।