• १३ साउन २०८१, आइतबार

चितवन–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेस आयोगमा दर्ता हुने

blog

काठमाडौं, फागुन १३ गते । आगामी वैशाख १० गते आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति शेरबहादुर देउवालाई र निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनैतिक दल एवम् प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरूमा बैठकले अनुरोध गरेको छ ।  

यसैगरी, बैठकले नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी, प्रतिनिधि सभाका सदस्यद्वय मनोरमा शेरचन र बिनाकुमारी थनेतको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।