बौद्ध धर्म दर्शनको चर्चा हुँदा अलि जानकार भएकाहरू ‘शून्यवाद’ शब्द प्रयोग गर्छन् र यो शब्दको प्रयोगसँगै बहस स्वतः गम्भीर र रहस्यमय भएर जान्छ । यो स्वाभाविक पनि हो । बौद्ध दर्शनमा चारवटा दार्शनिक सम्प्रदाय छन् र त्यसमा एउटा माध्यमिक सम्प्रदाय हो । आचार्य नागार्जुनद्वारा प्रतिपादित शून्यवादसँग यो सम्बद्ध छ । अन्य तीनवटा दार्शनिक सम्प्रदाय हुन्, वैभाषिक, सौत्रान्तिक र योगाचार (विज्ञानवाद) ।
विश्वविद्यालयमा बौद्ध अध्ययनको प्राध्यापन र दैनिक जीवनमा वज्रयानी पूजा विधिमा संलग्न एक शिक्षक सामाजिक सञ्जालमा स्तूपको एउटा फोटो हाल्दै लेख्छन्, “बौद्ध धर्मको शून्यवादको प्रतीक ।” पछिल्ला चैत्यको गवाक्षमा विभिन्न बुद्ध तथा बोधिसत्व वा अन्यको मूर्ति राख्ने चलन आयो । लिच्छविकालीन पाषाण चैत्यको गवाक्षहरूमा बुद्ध मूर्ति नराखी खाली नै राख्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमा हालिएको फोटो मूर्तिविहीन गवाक्ष हो । ‘अभाव’, ‘खाली’ वा ‘एम्टिनेस’लाई नै शून्य वा शून्यवाद दर्शनका रूपमा व्यक्त गर्न खोजेको भनेर बुझ्न कठिन भएन किनभने बौद्ध धर्ममा ज्यादै चर्चित ‘शून्यवाद’को विभिन्न सन्दर्भमा गलत अर्थ लगाउँदा प्रायः यस्तै बुझाइ हुने गरेको पाइन्छ ।
शून्यको शाब्दिक अर्थ केही नभएको, अभाव, खाली जरुर हो तर बौद्ध दर्शनको शून्यवादले यी अर्थसँग तादात्म्यता राख्दैन । एकताका युरोपमा ‘निहिलिज्म’ नामबाट एउटा जीवन दर्शन खुबै चर्र्चित थियो र यो दर्शनलाई रुसी लेखक इभान तुर्गनेभले ‘बाबु र छोरा’ शीर्षकको उपन्यासमा विशेष प्राथमिकताका साथ ठाउँ दिएको पाइन्छ । हरेक कुरालाई प्रश्न गर्ने, खण्डन गर्ने र अन्त्यमा त्यसको औचित्यमाथि प्रश्न गरेर अनौचित्य साबित गर्ने र नयाँ निर्माणमा जोड दिने खालको उक्त दर्शनलाई ‘सर्वखण्डनवाद’ वा ‘सर्वशून्यवाद’ भनेर अथ्र्याउन पनि खोजेको पाइन्छ । केही नभएको, अभावकै अर्थमा निहिलिज्मको अर्थ दिएको भनेर बुझ्न कठिनाइ छैन ।
जीवन दर्शनसम्बन्धी कुनै पनि मान्यताको प्रश्नमाथि प्रश्न अनि खण्डन गरिरहनु निहिलिज्म दर्शनको आदर्श हो । अघिल्लो पुस्ताले यसलाई अराजक रूपमा लिएको पाइन्छ । सबै कुराको खण्डन मात्रै गरेर बस्ने हो भने बाँकी के रहन्छ भन्ने सन्दर्भमा शून्य हुने र त्यस अवस्थामा अरू केही उत्पत्ति हुने धारणा पाइन्छ । त्यसैले यसलाई सर्वशून्य पनि भनिन्छ । बौद्ध दर्शनमा ‘सर्वम् शून्यम्’ भनेर शून्यवादको प्रकृति बुझाउँदा निहिलिज्मलाई बुझ्नु वा निहिलिज्मका बारेमा जानकार नभएकाले पनि केही नभएको अभावको अर्थमा बुझेको पाइन्छ तर यो बौद्ध शून्यवादको गलत बुझाइ हो । बौद्ध अध्ययन क्षेत्रमै पनि यस्तो गलत बुझाइ हुने गरेको दृष्टान्त गवाक्षमा मूर्ति नहुनुलाई नै शून्यवादको प्रतीक भन्न पुगेबाट पुष्टि हुन्छ ।
बुद्ध वचनलाई शब्दशः पालना गर्न, त्यसमाथि प्रश्न उठाउन नै नहुने अर्थात् प्रश्नमाथि निषेध र चिन्तनमननलाई प्रोत्साहन नदिने काम बौद्ध समाजमा हुँदैन । यसलाई स्वयं गौतम बुद्धद्वारा प्रत्याभूत वैचारिक स्वतन्त्रता भन्न सकिन्छ । यसअनुसार बौद्ध भिक्षु तथा आचार्यले बुद्धद्वारा देशित उपदेशमाथि अनेक दृष्टिकोणबाट चिन्तनमनन तथा अभ्यास गर्ने क्रममा अनेक दार्शनिक सम्प्रदायको उदय हुन पुग्यो । कुनै सम्प्रदाय विलय पनि भयो । विभिन्न सम्प्रदायको यसरी उदय हुनुलाई कतिपय बौद्धले नकारात्मक रूपमा लिई चिन्तित हुने गरेको पनि पाइन्छ । यसरी उदय भएका सम्प्रदाय तथा उपसम्प्रदायले बुद्ध वचनभन्दा फरक बाटो दिएको हो कि भनेर अनुमान वा आशङ्का गर्नेहरू पनि पाइन्छन् । बुद्धको महापरिनिर्वाण भएको सय वर्ष नपुग्दै स्थविरवाद र महासाङ्घिक भनेर दुई सम्प्रदाय फाटियो । त्यसको सय वर्षपछि अर्थात् सम्राट अशोक (इ.पू. तेस्रो शताब्दी)को संरक्षणमा तेस्रो सङ्घायन हुने बेलासम्ममा विभिन्न अठारवटा निकाय भइसकेको थियो । अशोक एक निकायको मात्रै पक्षपाती थिए र अन्यलाई दुरुत्साहन गरेको पाइन्छ । अशोकको नजरमा विकृति वा गैरबौद्धका रूपमा रहेको सर्वास्तिवाद नामको एउटा निकाय त्यसपछि गान्धार र कश्मीरतिर लागेको थियो । यी दुई क्षेत्रमा पुगेको सर्वास्तिवादमा पनि कालान्तरमा केही भेद विकास भएको थियो र कुषाण राजा कनिष्कले सर्वास्तिवादी बौद्धको भेला गरेर अर्को सङ्घायन गरेका थिए । उनले चारैतिर धर्मदूत पठाएर प्रचार गरेको धर्म सर्वास्तिवाद मात्रै थियो ।
बुद्धको जीवनकाल थोरै मात्र भूक्षेत्रमा बौद्ध धर्म फैलिएको थियो भने सम्राट् अशोकले त्यसलाई फैलाए । अझ विस्तृत भूक्षेत्रमा बौद्ध धर्म फैलाउने काम कनिष्कबाट भएको थियो । एवंरीतले अन्य सम्प्रदाय पनि आआफ्नै तरिकाले फैलिएको थियो । बौद्ध दर्शनको विकासको क्रममा देखा परेका अनेकौँ दार्शनिक सम्प्रदायमा एक हुन्, माध्यमिक दर्शन । आचार्य नागार्जुनद्वारा प्रतिपादित माध्यमिक दार्शनिक सम्प्रदायको अर्को नाम शून्यवाद पनि हो । यो सम्प्रदायका संस्थापक हुन्, आचार्य नागार्जुन । ब्राह्मण कुलमा जन्मेका यिनी बाल्यकालमै अत्यन्त मेधावी थिए र सुरुमा वेदमाथि अधिकार जमाएका थिए । पछि विधिवत् बौद्ध धर्म–दर्शनको अध्ययनतर्फ लागे । बौद्ध दर्शनको प्रगाढ अध्ययन मात्रै गरेनन्, त्यसको व्याख्या गर्नतिर पनि लागे ।
बौद्ध दर्शनमा ‘सर्वम् शून्यम्’ भनेर शून्यवादको प्रकृति बुझाउँदा निहिलिज्मलाई बुझ्नु वा निहिलिज्मका बारेमा जानकार नभएकाले पनि केही नभएको अभावको अर्थमा बुझेको पाइन्छ तर यो बौद्ध शून्यवादको गलत बुझाइ हो । बौद्ध अध्ययन क्षेत्रमै पनि यस्तो गलत बुझाइ हुने गरेको दृष्टान्त गवाक्षमा मूर्ति नहुनुलाई नै शून्यवादको प्रतीक भन्न पुगेबाट पुष्टि हुन्छ ।
‘वैपुल्यसूत्र’अन्तर्गत राखिएको नवव्याकरणको ‘प्रज्ञापारिमिता’ ग्रन्थको रचना उनीभन्दा अघि नै भइसकेको थियो । त्यही ग्रन्थमा निहित दर्शनलाई उजिल्याउने क्रममा मध्यमक शास्त्रलगायतका थुप्रै ग्रन्थको सिर्जना उनीबाट भयो । बुद्धद्वारा प्रयुक्त मध्यममार्ग शब्दलाई नै लिएर आफ्नो सम्प्रदायको नाम माध्यमिक दार्शनिक सम्प्रदाय राखिएको बुझिन्छ भने यसको मुख्य सिद्धान्त शून्यवाद हो तर आचार्य नागार्जुनको शून्यवाद भने पनि यो उनको मौलिक देन भने होइन । शून्यताको कुरा स्वयं बुद्धले नै भनिसकेको कुरा हो । कसैको पनि आफ्नो स्वतन्त्र सत्ता नभएको, सबै एक आपसमा आश्रित हुने अनि सोहीअनुसार उदय र विलय भइरहने प्रकृतिको स्वभाव हो । प्रत्येक क्षण अनित्य हो । उत्पत्ति र विनाश द्रूततर गतिमा भइरहने हुँदा सर्वसाधारणले यो चाल पाउँदैन । अनित्य वा क्षणभङ्गुरको यो प्रकृतिलाई आत्मसात् गर्नु नै बौद्ध साधना हो । यसका लागि साधन विपश्यना ध्यान हो भने साध्य अनित्य, दुःख अनात्मलाई बोध गरेर तृष्णालाई क्षय गर्नु हो ।
बुद्धका अनुसार जसले धर्म बुझ्छ, उसले प्रतीत्यसमुत्पाद दर्शन बुझ्छ अथवा जसले प्रतीत्यसमुत्पाद दर्शन बुझ्छ उसले धर्म बुझ्छ । कार्यकारणको सिद्धान्तलाई नै प्रतीत्यसमुत्पाद दर्शन भनिन्छ । दर्शन शास्त्रको दुनियाँमा गौतम बुद्धको मौलिक देन हो, प्रतीत्यसमुत्पाद । यही एउटा दर्शनले पूर्ववर्ती सबै दर्शनको खण्डन गर्छ । प्रतीत्यसमुत्पाद दर्शनलाई नै व्याख्या गर्ने क्रममा आचार्य नागार्जुनले शून्यवाद दर्शनको प्रतिपादन गरेका हुन् । एउटा उदाहरण लिउँ, कसैले कसैलाई एक झापड दियो । भन्ने बेलामा फलाना नामको व्यक्तिले झापड दियो । कहाँ दियो ? गालामा । अब प्रश्न उठ्छ, झापड दियो भने कसरी ? जवाफ हो– हातले हिर्काएर । भन्ने बेलामा फलाना व्यक्तिले झापड दियो भन्ने अनि हातले भन्न पाइन्छ ? त्यो हात नै फलाना व्यक्ति हो र ? होइन । फलाना व्यक्ति भनेर अर्कै प्रसङ्गमा उक्त हात मात्रै लगेर देखाउँदा स्वीकार्य हुँदैन । अर्थात् फलाना व्यक्ति भनेको हात होइन । हात पनि कसलाई भन्ने ? वास्तवमा त्यहाँ हात भन्ने कुरा नै छैन ।
छाला, मासु र हड्डी अनि हड्डीभित्र मासीलगायतका तत्वहरूको संयोजन मात्रै हो । यी कुरा शरीरका अन्य भागमा पनि छन् तर तिनलाई हात भनिँदैन, खुट्टा भनिएला अथवा टाउको वा गर्धन । छाला नै भने पनि त्यो विभिन्न कुरा मिलेर बनेको एउटा वस्तु मात्रै हो । मासु र हड्डी पनि त्यस्तै प्रकृतिको हुन्छ । यी कुरा स्थिर वा स्थायी होइनन् । प्रत्येक क्षणमा यी जम्मै कुरा द्रुतत्तर गतिमा परिवर्तनशील हुन्छन् ।
एकछिन अघि र एकछिन पछिको छाला फरक भइसक्छ । झापड हान्नुअघि र हानिसकेको व्यक्ति पनि उही होइनन्, दुई घटनाबीचको दूरी धेरै बढिसकेको हुन्छ । अर्थात् कुनै पनि कुराको आफ्नै स्वतन्त्र सत्ताको नितान्त अभाव छ । आफ्नै भन्ने कुनै स्वभाव नै छैन । यही ‘निस्वभाव’ शून्यवाद हो । बौद्ध दर्शनले यस चराचर जगत्मा भएका सम्पूर्ण विषयलाई स्वतन्त्र सत्ता नभएको र एकअर्कासँग मिलेर मात्रै अस्तित्व कायम गरिरहेको मान्छ अर्थात् शून्यवादले शाश्वतवादी दार्शनिक चिन्तनको खण्डन गर्दछ ।
प्रायः धर्मदर्शनका आआफ्ना छुट्टै सत्ता रहेको हुन्छ । शून्यवादी दृष्टिकोणबाट हेर्दा यहाँ अजर अमर भन्ने कुरा केही पनि छैन र कोही पनि हुँदैनन् । बौद्ध साधना विधि जतिसुकै भए पनि ती जम्मै साधनाको उद्देश्य शून्यताको बोध गर्नु हो । कर्मसिद्धान्तअनुसार सबै कुरा आफ्नै लयमा परिवर्तनशील भइराखे पनि ‘निस्वभाव’ अर्थात् शून्यवादी दृष्टिबाट हेर्न सके र साधना गरे भवचक्रलाई तोड्न सकिन्छ । शून्यताको बोध नै निर्वाणको अवस्था हो ।